जनता टाइम्स

११ पुष २०७८, आईतवार ११:४१

एमालेकै सांगठानिक संरचनामा माओवादी केन्द्र : पदाधिकारी १५ जना, उपाध्यक्ष संख्या सात पुर्याइयो


काठमाडौं, पुस ११ । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् ।माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो ।

बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ । यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो । माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको छ ।

माओवादीको यो संरचना एमालेकै अनुसरण हो । एमालेले कायम गरेको पदाधिकारीकै अनुशरण गर्दै माओवादीले आफ्नो पदाधिकारीको संरचना बढाएको हो । केन्द्री समितिको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी कमिटी बैठकको प्रस्तावलाई अनुमोदन गरेको छ । माओवादीको महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।