जनता टाइम्स

१४ पुष २०७८, बुधबार २१:०४

नयाँ बसपार्कमा सामूहिक बलात्कार : यस्तो छ घटनाको विवरण


काठमाडौं, १४ पुस । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई रातभर बलात्कार गरिएको घटनाका फरार आरोपित पनि पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर (काठमाडौं)का प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिएको जानकारीअनुसार ९ जना आरोपितमध्ये पक्राउ पर्न बाँकी एक जनालाई बुधबार अपराह्न नियन्त्रणमा लिइएको हो।

आठ जनालाई भने प्रहरीले यसअघि नियन्त्रणमा लिइसकेको छ। ‘आरोपित सबै ९ जना पक्राउ परिसकेका छन्’, प्रवक्ता मैनालीले बुधबार अपराह्न भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ प्रहरीका अनुसार पीडितको उजुरीका आधारमा पक्राउ परेकाहरुमा युवराज बडुवाल, हिक्मत नेपाली, दीपक नेपाली, शिवहरि बुढा, रतन नेपाली, सुरेश सेजुवाललगायत छन्। आरोपितहरूलाई प्रहरीले सार्वजनिक गरिसकेको छैन।

यस्तो थियो घटना

पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेष्ट हाउसमा लगेका थिए । पछि मुगु छायानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई उनले बोलाए । सो रात मदिरा सेवन गरेर दुई जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भोलिपल्ट बिहान थप ७ जनाले अरु दुईवटा गेष्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । क्लोज सर्किट क्यामेरामा देखिएको फुटेजमा बडुवालसँगै ती युवती हिँडेर गेस्ट हाउसमा गएको देखिएको छ । पुस १३ मा अरु ४ जना आरोपीहरुले उनलाई अर्को गेस्ट हाउसमा लगेको देखिन्छ ।


​अर्घाखाँची घर भएका गोपाल कुमार श्रीषले अन्तिम पटक बलात्कार गर्ने प्रयास गरेका थिए । त्यतिन्जेल ८ जनाबाट बलात्कारको पिडा खेपेकी युवती अर्धचेत भैसकेकी थिइन् । त्यसैले आफूले बलात्कार नगरेको र उनलाई ५ सय रुपैयाँ दिएर हिँडेको श्रीषले अनुसन्धान अधिकृतलाई बयान दिएका छन् । श्रीष वैदेशिक रोजगारीका लागि बुधवार कतार उड्दै थिए । पक्राउ परेपछि उनको कतार उड्ने टिकट काम लागेन । विदेशमा गएर कमाउने योजना पनि तत्कालका लागि विफल भएको छ ।

मंगलबार दिउँसो ३ बजे महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा एकजना युवती अर्धचेत अवस्थामा पुगिन् । र, भनिन्, ‘मलाई १० जना केटाहरूले बलात्कार गरेर भागे ।’ बसपार्कका इन्स्पेक्टरले सो सूचना काठमाडौं प्रहरीलाई जानकारी गराए । ‘त्यसपछि हामीले पीडितलाई प्रसूति गृहमा उपचारका लागि पठायौं’ एसएसपी गिरीले भने,‘अनि, सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु गरेर आरोपीसम्म पुग्न सफल भयौं ।

सबैभन्दा पहिले पक्राउ परेका हुन्, गोपाल कुमार श्रीष । उनी गोंगबुमा भेटिए । युवती प्रहरी कहाँ पुगेको सुराक पाएपछि ६ जना आरोपी कलंकीमा जम्मा भएका थिए । काठमाडौं परिसरबाट खटिएको टोलीले ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेस्ट हाउस एण्ड खाजा घरबाटै पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’

आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली र शिवहरि बुढा एकै ठाउँमा लुकेर बसेका थिए । बुधवार बिहान पक्राउ परेका मुगुका हस्त नेपाली चाहिँ गोंगबुबाट पक्राउ परेका हुन् । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौं आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागि काठमाडौं आएको प्रहरीले बताएको छ ।