जनता टाइम्स

२४ पुष २०७८, शनिबार १२:४२

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेट, संसदको गतिरोध र एमसीसीबारे छलफल


काठमाडौँ, पुस २४ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुग्नुभएको थियो ।

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको जानकारी दिनुभयो ।भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग माग्नुभएको एक स्रोतले जनाएको छ ।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन ।

सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुग्नुभएको हो ।