जनता टाइम्स

१ माघ २०७८, शनिबार १८:३३

आगामी चुनावबाट प्रचण्ड–माधवलाई आइसोलेशन र देउवालाई क्वारेन्टाइनमा राखिन्छ : महेश बस्नेत


पोखरा, माघ १ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलका नेता र पार्टीहरु आइसोलेशन र क्वारेन्टाइनमा बस्नुपर्ने बताउनु भएको छ ।

प्रेस चौतारी कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै युवा संघका इञ्चार्ज बस्नेतले तीन पार्टीका शिर्ष नेतामाथि यस्तो व्यङ्ग्य गर्नुभएको हो । दुई नेतालाई अहिले कोरोना लागेको र आगामी चुनावमा पनि आइसोलेशनमै राख्ने सन्देश कोरोनाले दिएको भन्दै बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि ब्यंग्य गर्नुभयो ।

बस्नेतले कांग्रेसलाई पनि चुनावले क्वारेन्टाइनमा राख्ने ठोकुवा गर्नुभयो । ‘कमरेड प्रचण्ड र कमरेड माधव नेपाल कोरोना संक्रमणले अहिले आइसोलेशनमा हुनुहुन्छ । प्रधानमन्त्रीज्यू क्वारेन्टाइनमा हुनुहुन्छ,’ बस्नेतले भन्नुभयो, ‘यसपालिको कोरोनाले के सन्देश दिएको छ भने आगामी चुनावमा प्रचण्ड र माधव नेपाललाई आइसोलेशनमा राख्ने । शेरबहादुर देउवाजीको पार्टीलाई क्वारेन्टाइनमा राख्ने र नेकपा एमालेलाई अगाडि बढाउने सन्देश दिन खोजेजस्तो देखिन्छ ।’

पूर्वमन्त्री बस्नेतले केपी ओली नेतृत्वको सरकारले खोप ल्याएर लगाएकै कारण पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्युदर कम भएको बताउनु भयो । महामारीमा पछिल्लो समय फेरिएका प्रदेश सरकार हुनु÷नहुनुको कुनै अर्थ नै नदेखिएको पनि बस्नेतले बताउनु भयो ।

‘हिजो केपी ओलीको सरकारले खोप ल्याएको हो, त्यो खोप तपाईं हामीले लगाएकै कारणले यो कोरोना भेरियन्टले ठूलो क्षति गर्न सकेको छैन । मृत्युदर धेरै कम छ । तर, अहिले बुस्टर डोज लगाउने विषयमा यो सरकारले किन नैरश्यता देखाइरहेको छ, हामीले बुझ्न सकिरहेका छैनौं,’ बस्नेतले भन्नुभयो ।