जनता टाइम्स

२ माघ २०७८, आईतवार ०७:४३

वीरेन्द्रनगरमा निस्सासिएर चार जनाको मृत्यु


काठमाडौं, माघ २ । वीरेन्द्रनगर–१० को बुदबुदीमा राति कोइला बालेर सुतेका चार जना मृत फेला परेका छन्। प्रहरीका अनुसार शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन जना बालकको मृत्यु भएको हो। प्रहरीले शनिबार राति साढे सात बजेमात्रै घटनाबारे जानकारी पाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले घरको कोठाको खाटमुनि कोइला बालेर सुतेका एक आमासहित चार जना मृत फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो।

कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत हुनुहुन्छ । मृतक सोमराज कृष्णका दाईका छोरा हुन्। उहाँ आएपछि मात्रै घटनास्थल मुचुल्का गर्ने प्रहरी जनाएको छ।घरका कल्पनाका ससुरा हुनुहुन्थ्यो तर उहाँ शनिबार विहानै बृद्धाश्रम जानुभएको थियो । बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि उहाँ बुहारी र नातिहरु सुतिराखेको कोठामा जानुभएको थियो । ढोका लगाएको भित्रबाट आवाज नआएपछि उहाँले प्रहरीलाई खवर गर्नुभएको थियो । प्रहरी साढे सात बजेतिर घटनास्थल पुगेको थियो। जनप्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले घरको ढोका फोडेको थियो। ‘खाटमुनि कोइला बालेको देखियो, मृतक चारै जनाको मुखमा फिज देखिन्छ,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक कनक शाहीले भन्नुभयो, ‘श्रीमान जिल्ला बाहिर भएकाले मृतकको शव नउठाएरै हामी फर्कियौं।’