जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार २०:४०

स्थानीय तहको निर्वाचनको सम्बन्धमा गठबन्धन भित्र भएका कुरा संविधानसम्मत् छैन : गगनकुमार थापा


काठमाडौं, माघ १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको बताउनुभयो ।

कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत् नहुने भन्दै उहाँले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई आफुहरुले सो कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिनेगरी कुनैपनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेसको सभापतिजीलाई मैले आजको छलफलमा पनि भनिसकेको छु । र यो भन्दा अगाडी पनि भनिसकेको छु । र गठबन्धनको नेताहरुसँग मेरो प्रत्यक्ष रुपमा भेटघाट नभएको हुनाले गर्दा म यो माध्यमबाट पनि उहाँहरुलाई के भन्न चाहान्छु भने स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ, र जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् ।

ति कुनैपनि विषयहरु संविधानसम्मत् छैन । हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानून संशोधन गरेर निर्णय गर्छौ भनेर जुन कुरा आइरहेको छ, ग¥यौँ भने यो संविधानसम्म्त हुँदैन । यो संविधानसम्मत् नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनैपनि कारण छैन । बोक्नु हुँदैन भन्नेकुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ । र गठबन्धनका नेताहरुले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझीने गरीकन कुनैपनि काम गठबन्धनले गर्दैन भन्नेकुराको मलाई विश्वास छ ।’ सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिनुभयो । शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफुले अपेक्षा गरेको उहाँको भनाई छ ।