काठमाडौं, माघ १५ । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक गाडीमा जोर– बिजोर नियम हटेको छ ।गएको माघ ७ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । हिजो काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ट्याक्सी र निजी गाडीमा जोर-बिजोर यथावत् राख्दै सार्वजनिक गाडीमा हटाउने निर्णय गरेको हो ।गएराति १२ बजेदेखि लागू हुनेगरी नयाँ निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
यसअघि हिजो बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागू भएदेखि नै सामाजिक सञ्जालमा यसबारे निकै टीकाटिप्पणी भएका थिए । थोरै सवारी चल्दा झन् बढी यात्रु कोचाकोच हुने र त्यसले कोभिड संक्रमण फैलने भन्दै निर्णय फिर्ता लिन सामाजिक सञ्जालमार्फत सरकारलाई चर्को दबाब दिइएको थियो । यही दबाब थेग्न नसकेर प्रशासनले जोर–बिजोर प्रणाली फिर्ता गरेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्