काठमाडौं, माघ २३। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी)संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गर्नुभएको छ ।
आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै चार /पाँच महिनामा आफूहरूले एमसिसी संसदबाट पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरूको प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ ९फागुन १६० सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ।
प्रचण्डको प्रस्ताव देउवा र ओलीले भने कुनै टिप्पणी गर्नुभएन । छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग माग्नु भएको थियो । जवाफ ओलीले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताउनुभएको थियो । तीन नेताहरूबीच आइतबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म छलफल भएको थियो।













प्रतिक्रिया दिनुहोस्