काठमाडौं, माघ २४ । लगातार दोहोरो भुमिकामा रहनुभएका सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल चुनावको मिति घोषणामा पनि बाधक बन्नुभएको तथ्य उजागर भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे बोलाउनु भएको मन्त्रिपरिषद् बैठकबाट आगामी जेठ ४ गते एकैचरणमा स्थानीय तहको निर्वाचन मिति तोक्ने योजना बनाएको भएपनि प्रचण्ड र माधवले नगर्न दवाव दिइरहनु भएको पाइएको हो ।
प्रचण्ड र माधवले चुनावको मिति घोषणा गर्नै हुन्न, चुनावका लागि हामी तयार भइसकेका छैनौं भन्दै प्रधानमन्त्रीलाई धम्क्याउन छाडनु भएको छैन, कांग्रेसका एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार प्रचण्ड र माधवले चुनाव रोक्ने कुरालाई नै आफ्नो बटमलाइन बनाउनु भएको छ तर प्रधानमन्त्री देउवाले आफू कलंकित बन्न नचाहेको भन्दै आजको बैठकबाट मिति घोषणाको गृहकार्य अघि बढाउनु भएको छ ।
एमाले अध्यक्षकेपी शर्मा ओलीले आइतवार भएको छलफलमा चुनावको मिति घोषणाबारे गम्भीर ढंगबाट प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसक्नु भएको छ । जवाफमा प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठकले मिति तोक्ने बताउनु भएको छ । प्रचण्ड र माधवको सकुनी पासामा नपरे आजको बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने बताइएको छ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्