जनता टाइम्स

२४ माघ २०७८, सोमबार २१:२०

टोपबहादुर रायमाझीले खोले एमालेसँग सवै पार्टी डराउनुको भित्री रहष्य


अर्घाखाँची, माघ २४ । नेकपा एमालेका सचिव रायमाझीले जनताको समर्थन रहेकै कारण एमालेसँग सवै पार्टी डराएको बताउनु भएको छ । प्रेस चौतारी नेपालको जिल्ला अधिवेशनको उदघाटन गर्दै सचिव रायमाझीले यस्तो ठोकुवा गर्नुभएको हो ।

उहाँले सत्तापक्षले प्रतिपक्षीलाई आरोप लगाएर उम्किने सत्ता पक्ष नेपालमा मात्र भएको भन्दै एमालेसँग सबै पार्टीहरू झस्किएको बताउनु भयो । उहाँले भन्नुभयो, एमालेको लोकप्रियता बढेकै कारण सबैले एमालेको डर मानेका हुन, एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत अव कुनै दलसँग पनि रहेन भन्ने कुरा प्रमाणित भइसक्यो ।

रायमाझीले विचारको आधारमा नभई विषयको आधारमा कलम चलाउन पत्रकारलाई आग्रह पनि गर्नुभयो । नेकपा एमाले निकट पत्रकारहरूको जिल्ला अधिवेशनलाई अर्घाखाँचीमा सम्बोधन गर्दै रायमाझीले सङ्क्रमणकालीन स्थितिमा समेत पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै विचार होइन विषयलाई आधार बनाएर समाचार लेख्न सुझाउनु भएको हो ।

आफूहरूले मेहनतका साथ सुरु गरेका योजना निरन्तर अगाडि बढेको भन्दै रायमाझीले राम्रो कामलाई राम्रो र नराम्रो कामलाई गलत भन्न सक्नेगरी लेखनसीपको विकास गर्नुपर्ने बताउनु भयो । फरक प्रसंगमा रायमाझीले अर्घाखाँचीले छोटो समयमा उल्लेख्य विकास प्राप्त गर्न सफल भएको तथ्य पनि उहाँले राख्नुभयो । जिल्लालाई नमुना जिल्ला बनाउनका लागि सबैको सहयोग आवश्यक भएकोमा रायमाझीको जोड थियो ।