जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार १९:२३

३५ करोडको डिल गर्दागर्दै हायात होटलबाट समातिए कांग्रेस नेता


काठमाडौं, ३ फागुन । ललितपुरका कांग्रेस नेता नवराज महत युरेनियम जस्तो देखिने पदार्थसहित ८ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हिजो साँझ महतसहित अन्य केहीलाई हायात होटलको पार्किङबाट पक्राउ गरेको हो । उनीहरुले भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

महत ललितपुर क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभाका उम्मेदवार थिए । बौद्ध इलाकामा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि प्रहरी प्रहरी प्रधान कार्यालयबाट समेत सादा पोशाकमा प्रहरी परिचलन गरिएको थियो ।

प्रहरीले खोजबिनका क्रममा ह्यात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो ।

सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । यसका लागि उनीहरुले केही व्यक्तिसँग डिल समेत गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी रहेका छन् ।

यस्तै भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि हुन बाँकी रहेको बताउनुभयो । २०७७ फागुनमा पनि प्रहरीले बौद्धबाट २केजी युरेनियम जस्तो धातु सहित ४ जनालाई पक्राउ गरेको थियो ।