जनता टाइम्स

११ फाल्गुन २०७८, बुधबार ०७:३७

गठबन्धन भत्काएर नयाँ समीकरण बनाउन बाबुरामको प्रस्ताव


काठमाडौं, फागुन ११ । अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सार्नुभएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताउनु भएको हो । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन ।

पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तामा रहे पनि एमसिसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ । गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन ।

भट्टराईले अर्को विकल्प अगाडि सार्नुभएको छ, नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन ।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गर्न एमालेको साथ खोजे पनि एमालेले आफूहरुले कार्वाही गरेको ब्यक्तिलाई संसदमा राखेर कुनै बिषयमा सहमति हुन नसक्ने बटमलाइन सुनाएको छ । एमालेले ‘गठबन्धनमै बहुमत रहेकोले सहयोग नगर्ने बताएको छ । यही परिस्थितिको बिषयमा भट्टराईले यस्तो धारणा राख्नुभएको हो ।

‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपपर्‍यो ! अर्को बाटो छैन !’ भट्टराईले भन्नुभएको छ ।