रुपन्देही, फागुन ११ । एमाले महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल रोकिएपछि सत्तारुढ गठबन्धनमा छटपटी भएको तथ्य खोल्नुभएको छ । बुटवलमा पार्टीको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेको जनलहरबाट आत्तिएकाहरु चुनावमा जान डराइरहेको पनि बताउनु भयो ।
महासचिव पोखरेलले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा सरकारमा रहेका दलहरुले नै दोहोरो चरित्र देखाएर जनतालाई मुर्ख बनाउने काम गरेको बताउनु भयो । पाँच दलीय गठबन्धनमा रहेको दलहरुले देखाएको दोहोरो भूमिकाको विरोधमा नेकपा एमाले रहेको महासचिव पोखरेलको भनाई छ ।
‘सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो । प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन । पहिला सरकारको दृष्टिकोण के हो ? सरकारले दुईटा कुरा गर्न मिल्दैन । यो भन्दा असफल गठबन्धन के हुन्छ ?’ महासचिव पोखरेलले भन्नुभयो ।
एमसीसीका नाममा मुलुकमा उपद्रो मच्चाउने काम भइरहेको टिप्पणी गर्दै एमाले महासचिव उहाँले एमसीसीको मस्यौदा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताउनु भयो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उहाँहरु छलफल गर्नुहुन्छ, बैठक गर्नुहुन्छ । तर, अहिले एमसीसीविरोधी भएको देखाउन नाटक गरिरहनुभएको छ । अब नेपाली जनता उनीहरुको दोहोरो चरित्रबाट प्रष्ट भइसके,’ उहाँले भन्नुभयो । देश अहिले सङ्गिन मोडमा उभिएको टिप्पणी गर्दै महासचिव पोख्रेलले पाँच दलीय गठबन्धन बनाएर एमालेको नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्