जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार ११:४१

सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी


काठमाडौं, १३ फागुन । गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रसहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ ।

छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् । ‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिनेछ ।

यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किंएका छन् । संसद बैठकमा पेस भएको विवादित एसमीसीको पक्षमा मतदान गर्ने बताएका उनीहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ ।