जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १८:५४

धनगढीमा जारी अण्डर–१९ टि २० क्रिकेट प्रतियोगिता : खेलाडीमाथि दुर्व्यवहार


धर्मा रोकाया/कञ्चनपुर। धनगढीमा जारी धनगढी मेयर एनपिएल ६ विद्यालयस्तरीय अण्डर–१९ टि २० क्रिकेट प्रतियोगितामा शारदा सरस्वती मावि दोधारा चादनीका खेलाडीमाथि दुव्र्यवहार भएको शारदा माविले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

फागुन-२ बाट सुरु भएको प्रतियोगिता खेल्न धनगढी पुगेको टिमका खेलाडिहरुलाई क्रिकेट मेदानमै आयोजक महेश बोहराले खेल खेल्ने भए खेल्नु नत्र मैदान बाहिर गए हुन्छ भनि थर्काएको दोधारा चादनीका कोच साउदले बताउनुभयो । प्रतियोगिताको सेमिफाईनल खेल अन्तर्गत शारदा सरस्वति मावि दोधारा चाँदनी र अत्तरीयाको सत्यवती एकेडेमी विचको खेलमा विवाद आउदा आयोजकले शारदा सरस्वति माविका खेलाडिलाई हेपाहा दृष्टिकोणले अभद्र व्यवहार गरेको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार टस जितेर व्याटिङ गरेको सत्यावतिले ८ विकेटको क्षतिमा १ सय ३ रन बनाएको समयमा हावा पानी आउँदा समस्या भएको थियो । यही मौसम प्रतिकुलताका विचमा पनि चलिरहेको खेललाई डिएल विधिबाट १५ ओभरमा छोट्याउदा ८३ रनको लक्ष्य दिनुपर्नेमा ९४ रनको लक्ष्य दिएपछि विवाद उत्पन्न भएको हो ।

यति हुँदा पनि दोधारा ९३ रनको लक्ष्य पछ्याउन तयार भएको तर आईसीसीका अम्पायर विनय झासंग सल्लाह गर्दा १५ ओभरमा ८३ रनको लक्ष्य हुने जानकारी पाएपछि आयोजकलाई भनिएको र सत्यवति खेल्न तयार नभएको हो । आज फाइनल खेल तय भएको थियो । तर शुक्रबार सेमिफाइनल नसकिएपछि फाइनल खेल पनि अन्यौल भएको छ ।

आयोजकले शुक्रबार साँझ १०–१० ओभरको खेल पुन खेलाउने निर्णय गरेपनि शारदा सरस्वतीले भने मानेको छैन । लिखित निर्णय गरेर दिएमा मात्रै पुनः खेल्न तयार भएको साउदले जानकारी दिनुभयो । यता प्रतियोगितका अध्यक्ष रामचन्द्र शाहीले आज बिहान लिखित निर्णय दिने भनेपनि फिल्डमा पुग्दा गालीगलौचसंगै अभद्र व्यवहार गर्नुभएको छ ।

‘दोधारा चाँदनी त्यसैमा पिछिडिएको क्षेत्र हो, हामी सामुदायिक विद्यालयबाट प्रतिस्पर्धी भएर सेमिफाइनलमा पुगेका थियौं,’ साउदले थप्नुभयो, ‘तर धनगढीमा हामीमाथि दुर्व्यवहार भयो, यो असह्य हो ।’ उहाँका अनुसार प्रतियोगितामा काठमाडौंको १, कैलालीको ८ र कञ्चनपुरको एक मात्र विद्यालय सहभागी छन् जसमा सामुदायिकबाट शारदा सरस्वती मात्रै हो । अघिल्लो संस्करणमा पनि आयोजकले धादली गरेर कञ्चपनुरबाट सहभागि भएको विद्यालयलाई प्रतियोगिताबाट निकालेको थियो ।