काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेको बताउनुभएको छ । आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उहाँले एमसीसीबारे नियोजित रूपमा भ्रम फैलाइए पनि अब त्यो आशंका दूर भएको बताउनुभयो ।
एमसीसीबारे नेपाल र अमेरिकाको बुझाइ समान रहेको उल्लेख गर्नुभयो । ‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ महतले भन्नुभयो, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । जुन भ्रम थियो त्यो अब दूर भएको छ । अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ ।’
विदेशी सहयोगलाई लिएर नेपाली कांग्रेसको फरक–फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको महतले बताउनुभयो । उहाँले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको पनि बताउनुभयो । संसद्ले एमसीसीलाई अपनत्व गरेको भन्दै त्यसलाई अब सदुपयोग गर्नेतिर लाग्ने उहाँले बताउनुभयो । महतले एमसीसी अनुमोदन गराउन भूमिका खेल्ने सबै वर्ग र क्षेत्रका मानिसलाई धन्यवाद पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्