जनता टाइम्स

२४ फाल्गुन २०७८, मंगलवार १३:०४

मुलुकमा जनादेशी र परमादेशी शक्तिबीच लडाइँ छ : अध्यक्ष ओली


पोखरा, फागुन २४ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलेको अवस्था रहेको बताउनुभयो । उहाँले इतिहास र शास्त्रमा कहिले राम र रावण, कहिले कृष्ण र कंस त कहिले कौरव र पाण्डवबीच विभिन्न समयमा सत्य र असत्यको लडाइँ चलेको भन्दै अहिले भने परमादेशी र जनादेशी शक्तिबीचको लडाइँ लड्नुपर्ने अवस्था आएको बताउनुभएको हो । ‘आजको असत्यचाहिँ बडो रोचक ढंगले प्रकट भइरहेको छ‚’ पोखरामा मंगलबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो , ‘असत्यको प्रतिनिधित्व गर्ने शक्ति परमादेशी र जनताको जनादेशको पक्षमा जान खोज्ने जनताको पक्षमा लड्ने शक्ति हामी सत्यको पक्षमा रहेका छौं ।’ महाभारतको लडाइँमा लड्न गएका अर्जुन धनुवाण फालेर रुँदै बस्दा कृष्णले ‘जसले तिमिमाथि प्रहार गर्दै छ‚ उसलाई आफन्त भन्ने भ्रम छाडेर युद्धमा होमिन’ आग्रह गरेको प्रसंग जोड्दै उहाँले नेता कार्यकर्तालाई सत्यको पक्षमा लड्न आह्वान गर्नुभएको हो ।

धेरै योद्धाहरूले अभिमन्यूलाई घेरेर मारेको उदाहरण दिँदै उहाँले सत्यको पक्षमा ल‍ड्दालड्दै पनि युद्धका नियम तोडिएको तर आफूहरू लडाइँ र खेलको नियम नतोडी प्रतिस्पर्धी ढंगले प्रस्तुत हुने दाबी गर्नुभयो । महाभारतमा वर्णित युद्धको उदाहरण दिँदै उहाँले आजको सन्दर्भमा लोकतन्त्रका मूल्यमान्यता, आधारभूत नियम, सिद्धान्तअनुसार राजनीतिक मैदानमा उत्रिने बताउनुभयो । परमादेशीहरूले सरकार ढल्ला भनेर नियम उल्लंघन गरेको भन्दै उहाँले सरकार नभई आफूहरूको गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताउनुभयो । ‘हामीले खोला, खोल्सी, फोहोर, नाली अनेक मिसायौं‚’ उहाँले भन्नुभयो, ‘त्यसले पानी कहिँकहिँ कालोकालो देखियो । त्यसको अवशेष अहिले पनि बाँकी छ ।’ एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने गुनासो आएको भन्दै उहाँले सबैले अवसर पाउने दाबी गर्नुभयो । अध्यक्ष ओलीले भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न र सार्वभौमसत्ताको रक्षाका लागि एमालेले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

इतिहासको गौरव र स्वाभिमानलाई कायम राख्दै देशलाई नोक्सान पर्नेगरी कसैसँग व्यवहार, लेनदेन र क्रियाकलाप नगर्ने भन्दै उहाँले देशको हितमा मात्र काम गर्ने बताउनुभयो । कार्यकर्तालाई बैंक लुट्ने, हातखुट्टा भाँच्ने, अपहरण गर्ने र कसैलाई मार्नेजस्ता गलत क्रियाकलापमा नलगाई राष्ट्र निर्माणमा लगाउने उहाँले बताउनुभयो ।