काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसले गठबन्धनसँग चुनावी तालमेल गर्ने नगर्ने विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनसँग चुनावी तालमेल गर्ने नगर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने जानकारी दिनुभएको हो ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत र उपसभापति खड्का उपस्थित हुनुहुन्थ्यो । सभापति देउवाले चुनावसम्म गठबन्धन रहने बताइसकेको जानकारी दिनुभएको उपसभापति खड्काले चुनावी तालमेलका विषयमा भने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताउनुभयो ।
‘गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं,’ उहाँले भन्नुभयो, ‘अहिले नै तालमेल गर्ने/नगर्नेभन्दा अपरिपक्व हुन्छ ।’ २९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको अभियानका साथ कांग्रेस चुनावी तयारीमा होमिने उपसभापति खड्काले बताउनुभयो । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोेकिएको छ ।













प्रतिक्रिया दिनुहोस्