काठमाडौं, चैत्र ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भईरहेको बताउनुभएको छ । सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको बताउनुभयो ।
‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो , ‘तीन जनाको नियुक्ति बदर गर्ने र दुई जनाको मात्र उपस्थितमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ ।’ उहाँले अघि भन्नुभयो , ‘षडयन्त्रको विल भर्पाइ हुँदैन । त्यसकारण यसको प्रमाण छ भन्ने हुँदैन ।’ उहाँले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने समते बताउनुभएको छ । स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त समेत गर्नुभयो ।
एमालेको अहिले सुरु भएको पोलिटब्युरो वैठकमा बोल्दै ओलीले यस्तो आशंका ब्यक्त गर्नुभएको हो । उहाँले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गर्नुभयो । ओलीले भन्नुभयो, ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुल गर्दैनौं । अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’













प्रतिक्रिया दिनुहोस्