जनता टाइम्स

८ चैत्र २०७८, मंगलवार १८:१२

संस्कृतिविद सत्यमोहन जोशीद्वारा महाकाव्य दङ्गि उर्वशी विमोचन


काठमाडौं, ८ चैत । कवि डाक्टर गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्यको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा सोमबार वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले उक्त महाकाव्यको विमोचन गर्नुभएको हो । महाकाव्य लोकार्पण गर्दै जोशीले भन्नुभयो,‘इतिहास साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव हुन् तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व हो ।’

उहाँले विमोचित महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा आफूलाई खुशी लागेको सुनाउनुभयो । जोशी निवासमा भएको पुस्तक विमोचन समारोहमा नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीले सभापतित्व गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा.खगेन्द्रप्रसाद लुइंटेल, प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले महाकाव्यकारलाई बधाई र शुभकामना दिंदै समालोचकीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अनेसासकी उपाध्यक्ष गीता कार्कीले संचालन गर्नु भएको कार्यक्रममा अनेसासकी अर्की उपाध्यक्ष गीता मैनालीले स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । ख्यातिप्राप्त गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचनमा लोकप्रिय कवि इन्दिरा दाहाल लगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेर समारोहलाई काव्यिक सौन्दर्यको रसपान गराउनु भएको थियो ।

महाकाव्यकार डाक्टर आचार्यले आफ्नो मन्तव्यमा आफ्नो काव्य यात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्कदै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो अनुभूति राख्नु भएको थियो । उक्त कार्यक्रममा साहित्यकार, प्राज्ञिक व्यक्तित्व, संविधान विद्, प्राध्यापक, विश्व विद्यालयका एमफिल र पिएच.डी. तहका शोधार्थी, साहित्यप्रेमीसहित सर्वसाधारणको उपस्थिति रहेको थियो ।