जनता टाइम्स

१२ चैत्र २०७८, शनिबार ०८:५५

तालमेलबारे कांग्रेसमा दुईधार : देउवा पक्षमा, शेखर विपक्षमा


काठमाडौं, चैत १२ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेलको विपक्षमा छ ।

शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बिषयमा नेताहरूको फरकफरक धारणा आएको हो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिनुभएको छ भने इतर पक्षका नेता डा. शेखर कोइराला भने तालमेलको बिपक्षमा देखिनुभएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भने स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउँदै आउनुभएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतका अनुसार तालमेलका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिबाट जिल्लाको वस्तुगत अवस्था बुझ्ने काम भइरहेको छ । शुक्रबारको बैठकमा जिल्ला खटिएका २१ जना केन्द्रीय प्रतिनिधिले जिल्लामा पार्टीको अवस्थाबारे जानकारी गराएको महतले बताउनु भयो । कांग्रेस बैठकमा स्थानीय तहको निर्वाचनका लागि ७७ जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लाको वस्तुगत अवस्थाका विषयमा नेतृत्वलाई जानकारीसमेत गराएका छन् ।

महतले पार्टी सभापति देउवा गठबन्धन आबद्ध दलहरूबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गरिनुपर्ने पक्षमा रहेकोसमेत जानकारी दिनुभयो ।‘प्रधानमन्त्री देउवा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक हुनुहुन्छ, कहाँ कस्तो अवस्था छ हेरेर तालमेल गरौं भन्ने उहाँको भनाइ हो,’ प्रवक्ता महतको भनाई छ ।

बैठकमा केन्द्रीय सदस्यहरूबाट आवश्यकताअनुसार नेकपा एमालेसँगसमेत चुनावी तालमेल गर्नुपर्ने राय आएको छ । कांग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएकी मुक्तकुमारी यादवले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग पनि आवश्यक परे तालमेल गर्नुपर्ने राय राख्नुभएको छ ।

यादवलाई स्थानीय तहको निर्वाचनका कांग्रेसले सिन्धुली खटाएको थियो । उहाँले सिन्धुलीमा कांग्रेसले जित्नका लागि एमालेसँग तालमेल गर्नुपर्ने धारणा राख्नुभएको हो । यसैगरी, बैठकमा कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कांग्रेसले एक्लै उम्मेदवार उठाउँदा सहज रूपमा जित्न सकिने नभए सो प्रदेशमा माओवादीसँग भन्दा एमालेसँग तालमेल गर्दा सहज हुने धारणा राखेका छन् ।

चुनावी तालमेलका विषयमा कांग्रेसका प्रदेश सभापतिहरूसमेतको फरकफरक राय आएको छ । बैठकमा सहभागी भएका कांग्रेसका चारवटा प्रदेशका सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनबीच चुनावी तालमेलको विपक्षमा उभिनुभएको छ ।