जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार १३:१९

दैलेखको पेट्रोलियम पदार्थ उत्खनन गर्न एमालेकै सरकार आवश्यक : अध्यक्ष ओली


दैलेख, चैत्र १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रालिम पदार्थ भएको पुष्टी भइसक्दा पनि अहिलेको सरकारले थप काम गर्न नसकेको बताउनुभयो । दैलेखको दुल्लु पुग्नु भएका अध्यक्ष ओलीले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने थाहा हुँदाहुँदै पनि अहिलेको सरकारले काम गर्न नचाएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थ उत्खनन गर्न फेरि पनि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो ।

राजनेता ओली दैलेखमा कार्यक्रममा आएका स्थानियबासी बसेको खाली जमिनमै उहाँहरुसगै बस्नुभयो ।

उहाँले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरेको आरोप लगाउनुभयो । पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन् जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजनाहरू काटेको छ, चुनाव पछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’ अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छाना मुक्त अभियान ल्याएको बताउँदै दैलेखमा पनि धेरै नागरिकका घर खरका छाना मुक्त भएर जस्तापाता लगाइएका बताउनुभयो ।

उहाँले बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने बताउनुभयो । अध्यक्ष ओलीले आफ्नो सरकारको तीन वर्षे कार्यकालमा देशको विकासका लागि राम्रा कामहरू गरेको र पुनः एमाले सरकारमा आए पछि विकासे गतिलाई तीव्रता दिने बताउनुभयो । उहाँले भन्नुभयो ‘देशको रक्षा, विकास र सुशासनका लागि एमाले बाहेक अन्य पार्टीले काम गर्न सक्दैनन् अहिले अलमलिएका विकासे काम एमालेको सरकार आएपछि अघि बढाउँछ ।’

उनले अहिले पनि केही व्यत्तिहरु अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे। ‘एमालेको चाहाना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्र प्रेमीहरू एमालेमा आउनु पर्छ’ अध्यक्ष ओलीले भन्नुभयो। दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै तहहरु लाग्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले दुल्लुमा एक हजार वर्षअघि नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरेको दाबी गर्नुभयो ।