खोटाङ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताउनुभएको छ । खोटाङको दिक्तेलमा आज आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान आउनुभएको अध्यक्ष ओलीले सोही ठाउँमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सूर्य र त्रिशुल जोडिएपछि मजाक उडाउँने नेताको हालत पल्टिने बताउनुभएको हो ।
एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभइ उनीहरूलाई शिवजीले त्रिशुल हान्ने बताउनुभयो । ‘हाम्रो पार्टी छाडेर गएका एक जना कसैले बडो मजाकसँग मलाई के भने भने केपी ओलीको चुनाव चिन्ह अब त्रिशुल हुन्छ । अब सूर्यसँग त्रिशुल पनि जोडिने भो,’ अध्यक्ष ओलीले थप्नुभयो, ‘शिवजीको त्रिशुलको फेला परेपछि यिनीहरूको हालत के होला ?’
उहाँले भन्नुभयो,’ओलीले अब त्रिशुल पनि हान्छ भने, मैले हान्न पर्दैन त्रिशुल त शिवजीले हान्छन् । शिवजीको त्रिशुल पनि उनीहरूले मलाई जिम्मा लाइदिनुभयो ।’ पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ आउनुभएको अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताउनुभयो । अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गर्नुभएको छ । उहाँले हलेसीमा दुई लाख भेटी चढाएको पनि घोषणा गर्नुभयो ।
उहाँले कार्यक्रममा हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गर्नुभएको थियो । हलेसीमा दर्शन तथा संक्षिप्त पत्रकार सम्मेलनपछि अध्यक्ष ओली दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेलमैदान पुग्नुभएको छ । जनसभाका लागि हजारौं कार्यकर्ता उतारेको एमालेले दावी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्