जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार ०८:३८

निर्वाचन आयोगले बोलायो ७९ दललाई, आचारसंहिताबारे छलफल हुने


काठमाडौं, चैत्र २२ । निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । २०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

तर, आचारसंहिता भने लागू भइसकेको छैन ।उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।