जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार ०९:२१

बझाङका ९ स्थानीय तहमा सबै दल मिल्दा पनि एमाले नै बलियो, बाँकी ३ वटामा कडा प्रतिस्पर्धा


बझाङ, चैत्र २२ । नेकपा एमालेका केन्दीय सदस्य तथा पूर्व अनेरास्ववियुका अध्यक्ष ऐन महर, भैरव बहादुर सिंह, अफिलाल ओखेडा र आशा कुमारी विकको गृहजिल्ला बझाङमा रहेका १२ स्थानीय पालिकामा गत निर्वाचनमा एमालेले ८ वटामा प्रमुख तथा ९ वटामा उपप्रमुख जितेर बर्चश्व जमाएको थियो । २०७४ को निर्वाचनमा केही पालिकामा जीत निकालेको एमालेले अहिले त्यो विरासत कायम राख्न सक्छ वा सक्दैन भन्ने विषयमा अड्कलबाजी सुरु भएका छन् ।

बझाङका केही पालिकामा सबै दल एकातिर भए एमालेलाई जित्न कठिन हुने देखिन्छ । एमाले एक्लै लडे पनि गठबन्धनलाई टक्कर दिनसक्ने स्थानीय तहमा मष्टा, वित्थडचिर, थलारा, दुर्गाथली, साइपाल, तलकोट, केदारस्युँ, जयपृथ्वी र छविस लगाएतका पालिका रहेका छन ।

अघिल्लो निर्वाचनमा साइपाल बाहेकका पालिका एमालेले जितेको र अहिले माओवादीको पनि धेरै शक्ति एमालेमा आएकाले पार्टी विभाजनको खासै असर यी पालिकामा देखिँदैन । पार्टी विभाजन गरेर नेकपा एसमा बनेपनि यति धेरै जनप्रतिनिधि कुनैले पनि त्यो पार्टी नरोजेका कारण र प्रभावशाली नेताहरु एउटै मोर्चामा रहेका कारण जिल्लामा पार्टी कमजोर नभएको एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह– इन्चाज एन महरले बताउनुभयो ।

तर केही पालिकामा नेकपा एसले केही मत काट्ने र सत्तारुढ सबै दल एमालेविरुद्ध तालमेलका लागि अगाडि बढेकाले एमालेलाई चुनौती देखिएको छ । अघिल्लो निर्वाचनमा जयपृथ्वी नगरपालिकामा एमालेका विरेन्द्र बहादुर खड्काले ३ हजार ४० मत प्राप्त गरी जित हासिल गर्नुभएको थियो भने उहाँका निकटनम प्रतिस्पर्धी नेपाली काँग्रेसका चेतराज बजालले २ हजार ९६० मत पाउनुभएको थियो ।

यस्तै, माओवादी केन्द्रका नरेन्द्र खड्काले १ हजार ३१७ मत हासिल गर्नुभएको थियो । यो पालिकामा एमालेका उम्मेदवार खड्का ८० मतान्तरले विजयी भएका कारण पनि यहाँ गठबन्धन भएमा पनि एमाले नै बलियो रहेको आँकलन गरिएको हो । त्यस्तै थलारा गाउँपालिकामा एमालेका भुवनेश्वर उपाध्यायले २ हजार ७७८ मतका साथ जित हासिल गर्नुभएको थियो । यहाँ काँग्रेसका राम बहादुर खातीले २ हजार ८१ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर सावदले १ हजार १५२ मत पाउनुभएको थियो ।

छविसपाथिभेरा गाउँपालिकामा एमालेका अक्कल बहादुर धामीले २ हजार २८९ मतका साथ जित हासिल गर्दा काँग्रेसका झलक बहादुर कठायतले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको थियो भने, माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र सिंह धामीले १ हजार ४३३ मतमात्र प्राप्त गर्नुभएका थियो । त्यस्तै केदारस्यँ गाउँपालिकामा एमालेका इन्द्र बहादुर भण्डारीले २ हजार ८१५ मतका साथ जित हासिल गर्दा काँग्रेसका रमेश बहादुर भण्डारीले २ हजार ३६२ मत प्राप्त गर्नुभएको थियो भने, माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर बोहराले १ हजार ५६७ मत पाउनुभएको थियो ।

वित्थडचिर गाउँपालिकामा एमालेका प्रेमबहादुर बोहराले २ हजार ७११ मतका साथ जित हासिल गर्दा काँग्रेसका धन बहादुर खड्काले २ हजार २५२ मत प्राप्त गर्नुभएको थियो र माओवादी केन्द्रका उम्मेदवार रमेश बहादुर अधिकारीले १ हजार २८ मत पाउनुभएको थियो । त्यस्तै मष्टा गाउँपालिकामा एमालेका कर्ण बहादुर कठायतले २ हजार १४२ मतका साथ जित हासिल गर्दा काँग्रेसका ज्ञान बहादुर बोहराले १ हजार ९६१ मत प्राप्त गरेका थिए भने, माओवादी केन्द्रका उम्मेदवार शिवराज बोहराले ८ सय २२ मत पाउनुभएको थियो । तलकोट गाउँपालिकामा एमालेका लाल बहादुर विष्टले २ हजार ६४ मतका साथ जित हासिल गर्दा काँग्रेसका राजेन्द्र बहादुर सिंहले २ हजार मत प्राप्त गर्नुभएको थियो । , माओवादी केन्द्रका धन बहादुर धमेनाले २७३ मत पाउनुभएको थियो ।

त्यस्तै दुर्गाथली गाउँपालिकामा एमालेका प्रयागराज जोशीले १ हजार ५ सय ९० मतका साथ जित हासिल गर्दा काँग्रेसका जनक बहादुर दौल्यालले १ हजार ४५३ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रका दिल बहादुर थापाले १ हजार २४७ मत गर्नुभएको थियो । तर अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हेर्ने हो भने जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिका, छविस गाउँपालिका, केदारस्युँ गाउँपालिका, वित्थडचिर गाउँपालिका, मष्टा गाउँपालिका, तलकोट गाउँपालिका र दुर्गाथली गाउँपालिकामा एमालेलाई गठबन्धनका अगाडि आफ्नो विरासत जोगाउन चुनौती छ ।

अघिल्लो चुनावमा साइपाल गाउँपालिकामा एक्लाएक्लै लडेका एमाले, काँग्रेस र माओवादी केन्द्र उम्मेदवारहरु काँग्रेसका राजेन्द्र बहादुर धामीले ३९४ मतका साथ जित हासिल गर्दा एमालेका मानविर बोहराले ३३६ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर बोहराले २१ मत पाउनुभएको थियो । साइपालमा अहिले माओवादी केन्द्रमा १ जना बाहेक गाउँपालिका कमिटी नै एमालेमा समाहित भएकाले जित्ने आँकलन गरिएको छ ।बुंगल नगरपालिकामा काँग्रेसका धन बहादुर विष्टले ५ हजार २५९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका धन बहादुर बोहराले ४ हजार ५२३ मत ल्याएउनुभएको थियो ।

यहाँ माओवादी केन्द्रका हरि कुँवरले २ हजार २६१ मत हासिल गर्नुभएको थियो । त्यस्तै सुर्मा गाउँपालिकामा काँग्रेसमा नर बहादुर बोहराले १ हजार ७४८ प्राप्त गरी जित हासिल गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शेर बहादुर बोहराले १ हजार ६८६ मत प्राप्त गर्नूभएको थियो । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार सुरेन्द्र बहादुर बोहराले ५२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै खप्तडछान्ना गाउँपालिकामा काँग्रेसका वर्क बहादुर रोकायाले २ हजार २७९ मत प्राप्त गरी जित हासिल गर्दा एमालेका मिश्र बहादुर रोकायाले २ हजार ९६ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रका टोप बहादुर खड्काले १ हजार ४५७ मत प्राप्त गर्नुभएको थियो ।