जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार १९:४४

गठबन्धन जति ठूलो भए पनि एमाले जति पुग्दैन : अध्यक्ष ओली


बझाङ, २८ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गर्नुभएको छ । एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उहाँले बताउनुभयो । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उहाँले बझाङवासीलाई आग्रह गर्नुभयो । उहाँले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताउनुभयो । उहाँले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताउनुभयो । ‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ उहाँले भन्नुभयो ।

एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उहाँले बताउनुभयो । उहाँले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिनुभयो । अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावित ठाउँमा पुगे पनि कुनै काम गरेनन् । सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँट जोगाउन एमाले प्रतिबद्ध छ । भत्केका घर एमालेले निर्माण गर्छ,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले बझाङका साथै सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभएको थियो । वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाउनुभयो । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने उहाँको दाबी छ ।