जनता टाइम्स

१३ बैशाख २०७९, मंगलवार १७:३६

सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप


सप्तरी, १३ वैशाख । सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिनुभएको छ । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उहाँलाई कुटपिट गरेको पीडितले आरोप लगाउनुभएको छ । कुटपिटबाट गम्भीर घाइते हुनुभएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका अंगमा चोट पटक लागेको पीडितको भनाइ छ ।

आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान, जेठानी नन्दले कुटपिट गरी अचेत बताएको पीडित लक्ष्मिनियाँले बताउनुभयो । ‘मलाई राति नै कुटेर बेहोस बनाएको रहेछ । सोमबार बिहान होसमा आएपछि मात्र ममाथि कुटपिट भएको थाहा पाएँँ,’ उहाँले भन्नुभयो ।

एक वर्षदेखि दाइँजोको निहुँमा पटक–पटक आफूमाथि शारीरिक, मानसिक दिँदै आएको र यसबारे प्रहरीमा जाहेरी दिँदासमेत पीडकमाथि कारबाही नभएको लक्ष्मिनियाँको दुखेसो छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा ससुरा शिव दयाल भगत, सासु सीता देवी भगत, पति सञ्जिव भगत, जेठानी अन्जु भगत, नन्द रन्जु भगत र गाउँकै नातापर्ने विणा भगतले निर्घात कुटपिट गरी घाइते बनाएको किटानी जाहेरी दर्ता गर्दा पनि प्रहरीले प्रशासनले कारबाही नगरेको उहाँको आरोप रहेको छ ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले कुटपिट संलग्न ससुरा शिव दयाल भगतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जानकारी दिनुभयो । रौतहट माइती भएको उहाँ र सञ्जिवबीच चार वर्षअघि मागी विवाह भएको थियो ।