काठमाडौं, बैशाख १५ । राजनीतिमा वर्षौंदेखि काम गरेका योग्य कार्यकर्तालाई पाखा लगाउँदै शक्तिशाली नेताका परिवारकै सदस्य र आफन्तले ठूलो संख्यामा टिकट पाएका छन् । गठबन्धनका पाँच दलमध्ये तीन दलका शीर्ष नेताका परिवारका सदस्यले दुई महानगरपालिकामा प्रमुख र एक महानगरपालिकामा उपप्रमुखको टिकट पाएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहालले भरतपुर महानगर प्रमुखमा टिकट पाउनु भएको छ भने गठबन्धनभित्रकै कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले काठमाडौं महानगर प्रमुखमा । त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रकुमार यादव विराटनगर महानगरमा उपप्रमुखको उम्मेदवार बन्नुभएको छ । महानगरमा परिवारका सदस्यलाई जिताउनकै लागि ती दलीच गठबन्धन भएको तथ्यलाई यी पात्रले पुष्टि गर्दछन ।
मधेसका मुख्यमन्त्री लालबाबु राउतले पत्नी जलेखा खातुनलाई जनता समाजवादी पार्टीबाट पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाउनु भएको छ । मुख्यमन्त्रीकी पत्नीले उम्मेदवारी दर्ता गराउने भएपछि २०७४ मा संघीय समाजवादी फोरम नेपालबाट उपाध्यक्ष जितेकी बिस्मिल्लाह खातुन र पति महम्मद सरिफ गदीले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले रौतहटको गरुडा नगरपालिकामा सालो पर्ने सुनीलकुमार यादवलाई नगरप्रमुखको टिकट दिनुभएको छ । अघिल्लो स्थानीय निर्वाचनमा यादव पराजित हुनुभएको थियो । यसपटक उही प्रवृत्ति दोहोरिएपछि कांग्रेस महासमिति सदस्य रामभरोस यादव पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा जानुभएको छ ।
रौतहटकै मौलापुर नगरपालिकामा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमलराय यादवले छोरा रामकल्याण यादवलाई प्रमुख पदमा उम्मेदवार बनाउनु भएको छ । जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले श्रीमती मधुलिका रानीलाई देवाही–गोनाहीको नगरप्रमुखमा उम्मेदवार बनाउनु भएको छ । साविक नगरप्रमुख रहेका पटेल घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गत चैतमा ५ लाख रुपैयाँसहित रंगे हात पक्राउ गरेपछि यसपालि श्रीमतीलाई उम्मेदवार बनाइएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रामकृष्ण खाँण उम्मेदवार हुनुहुन्छ । रामकृष्ण गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका साइँला भाइ हुनुहुन्छ । उहाँ नगरप्रमुखमा उम्मेदवार बनेपछि कांग्रेसमा ठूलो असन्तुष्टि छ ।
लुम्बिनी प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पत्नी सीता आचार्यलाई रोल्पामा वडा सदस्यको उम्मेदवार बनाउनु भएको छ । सीतालाई जिल्ला समन्वय समिति प्रमुख बनाउने गरी वडा सदस्यमा उठाइएको हो । नेताका आफन्त र नातागोतालाई स्थानीय तहको टिकट बाँड्ने प्रवृत्ति कर्णाली प्रदेशमा पनि देखिएको छ । दैलेखको नारायण नगरपालिका प्रमुखमा कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको थियो ।
एक सातासम्म उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रदेश समितिले केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ । कांग्रेसको कोइराला समूहबाट यसअघि महाधिवेशन प्रतिनिधिमा विजयी भएकी खड्का चुनावको मुखैमा देउवा समूहमा प्रवेश गर्नुभएको थियो ।
कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगरप्रमुखमा उम्मेदवारी पाउनु भएको छ । मन्त्री शाहीकै दबाबमा उनलाई नगर समितिले उम्मेदवार सिफारिस गरेको थियो ।
रुकुम पश्चिमको मुसीकोट नगरप्रमुखमा माओवादी केन्द्रका विभिन्न ९ जना आकांक्षी थिए । अन्तिममा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले टिकट पाउनु भएको छ । उम्मेदवार सिफारिस भएका शर्मा मुसीकोटका वर्तमान नगरप्रमुख देवीलाल गौतमका दाइका छोरा हुन् । यस्तै अर्थमन्त्री शर्माका मामाका छोरा आकाश भनिने लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवार हुनुभएको छ । माओवादीका लुम्बिनी प्रदेश सदस्य रहेका शर्मालाई प्रमुख पदको टिकट दिएपछि निवर्तमान प्रमुख गणेशबहादुर केसी समर्थकले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।
गण्डकी प्रदेशका गोरखा, तनहुँ, म्याग्दीका केही स्थानीय तहमा स्थानीय र केन्द्रीय नेताले आफन्त र इष्टमित्रलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएका छन् । पालुङटार नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रबाट वन्दना पाण्डेले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । बन्दना माओवादी केन्द्रका प्रदेश इन्चार्ज हितराज पाण्डेकी छोरी हुनुहुन्छ । उपप्रमुखमा ९ जनाले आकांक्षा राखेका थिए ।
त्यस्तै, गोरखा नगरप्रमुखमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टकी श्रीमती सञ्जु नेपालीले टिकट पाउनु भएको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य गोविन्द पौडेलले बुहारी ज्योति लामिछानेलाई बेनी नगर उपप्रमुखमा उम्मेदवार बनाउनु भएको छ । २०७४ को निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा पनि उपप्रमुख बनेकी लामिछाने पराजित भएकी थिइन् ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले दिदीलाई उपाध्यक्ष र भाइलाई वडाध्यक्षको उम्मेदवार बनाउनु भएको छ । चौधरीकी दिदी शान्ति चौधरीले दाङको गढवा गाउँपालिकाको उपाध्यक्षमा र भाइ पुरन शर्माले गढवा–७ मा वडाध्यक्षको उम्मेदवारी दिनुभएको छ । प्रदेशमा टिकट वितरणको जिम्मा समाजवादीले चौधरीलाई दिएको थियो ।
सिन्धुलीको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल उम्मेदवार बन्नुभएको छ । निर्वतमान गाउँपालिका अध्यक्ष उहाँ वाग्मती प्रदेससभा सदस्य एवं माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) की पत्नी हुनुहुन्छ । सिन्धुली माओवादीले दोहोर्याएर उम्मेदवारी नदिने नीति बनाए पनि दीपाको हकमा यो लागू भएन । यसरी गठबन्धनले आफन्त जिताउन जनता झुक्याउने खेल खेलेको यी तथ्यहरुले प्रष्ट पार्दछ ।













प्रतिक्रिया दिनुहोस्