जनता टाइम्स

१५ बैशाख २०७९, बिहीबार १३:५७

पुत्री जिताउने प्रचण्डको योजनामा ठूलो धक्का, उम्मेदवारी फिर्ता लिने आग्रह कांग्रेस नेता पौडेलद्वारा ठाडै अस्वीकार


चितवन, १५ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवारी फिर्ता नलिने बताउनुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गर्नुभएको हो । पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर–७ स्थित पौडेल निवास पुग्नुभएको थियो ।

गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताउनुभयो । आफूले दिएको उमेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उहाँले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताउनुभयो ।

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उहाँले भन्नुभयो,‘परिस्थिती धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने भनेँ ।’ पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उहाँले बताउनुभयो ।

विभिन्न जिम्मेवारी दिन गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उहाँले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहनुभएन । आफूलाई कुनै प्रस्तावले नछुने उहाँले बताउनुभयो । पहिलो भेटमा पौडेलले उमेदवारी फिर्ता नलिने बताएपछि फेरि भेट्ने भनेर गृहमन्त्री निस्किनुभएको थियो ।

पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई भेट्नुभएको थियो । सापकोटा र खरेलले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गर्नुभएको छ । गठबन्धनबाट भरतपुरको मेयरको उमेदवारमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाउने निश्चित भएपछि पौडेलले बागी उम्मेदवारी दिनुभएको हो ।