जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १५:३५

धनगढीमा परिवार दलबाट परेको उपमेयरको उम्मेदवारी रद्द


धनगढी, १६ वैशाख । समानुपातिकको बन्दसूचीमा नाम समावेश भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । नेपाल परिवार दलको तर्फबाट विकले धनगढीको उपप्रमुख पदका लागि उम्मेदवारी दिनुभएको थियो । समानुपातिकको बन्दसूचीमा नाम समावेश भेटिएपछि उहाँको उम्मेदवारी रद्द भएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो ।

उहाँका अनुसार धनगढी– ५ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नम्बर ४ बाट महिला सदस्यमा उम्मेदवारी दिनुभएको एकीकृत समाजवादी की पार्वतीदेवी भाट, वडा नम्बर ६ बाट राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारीसमेत रद्द भएको छ ।

यसैगरी धनगढी–६ को वडाध्यक्षमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका दिलीपराज भण्डारी, वडा नम्बर–७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको झगरु राना र वडा नम्बर १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएको देवी स्नेहीको नामसमेत रद्द गरिएको छ ।