जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १८:१४

प्रलोभन र धम्कीसामू झुकेनन कांग्रेस नेता जगन्नाथ पौडेल, फिर्ता लिएनन भरतपुर मेयरको उम्मेदवारी


चितवन, बैशाख १६ । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम हुने भएको छ। निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ पाँच बजेसम्मको समयमा इमानका लागि भन्दै फिर्ता लिन दिइएको दवाव अस्वीकार गरेपछि उहाँको उम्मेदवारी कायम रहने भएको हो ।

पौडेलले उम्मेदवारी फिर्ता लिन केन्द्रले दिएको दवाव अस्वीकार गर्नुभएको हो । पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका धेरै नेताहरूको दबाबका बाबजुद् पौडेल आफ्नो अडानमा उभिनु भएको हो ।

पौडेलको उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री बालकृष्ण खाणले करिब ४० घन्टा भरतपुर बसेर कसरत गर्नुभएको थियो । गृहमन्त्री खाँणसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेललाई फकाउन देउवाका प्रतिनिधिक‍ो रूपमा खटनु भएको थियो । तर पौडेलले सबै नेतालाई आफू फर्कन नसक्ने अवस्थामा पुगिसकेको जवाफ दिई इमानमा अडिनुभएको छ ।

पूर्व सांसद जगन्नाथ पौडेलले सयौं कांग्रेस कार्यकर्ताको साथमा मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनु भएको थियो । उहाँलाई उम्मेद्वार बन्न पूर्व सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गर्नुभएको छ । पौडेलले उम्मेदवारी फिर्ता नलिएसँगै गठबन्धनमा ठूलो धक्का लागेको छ । पौडेललाई उम्मेदवारी फिर्ता गराउन ठूलै अफर दिइएको थियो । तर इमान बिक्रि नगर्ने अडानसहित उम्मेदवार बन्नुभएको हो ।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहाललाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी दाहाल भरतपुरको मेयरको उम्मेद्वार हुनुहुन्छ। नेपाली कांग्रेसको पकड रहेको भरतपुरमा यसअिघ पनि कांग्रेस सभापति देउवाले प्रचण्डपुत्री रेनुलाई मेयर बनाउन सहमति गर्नुभएको थियो । भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेद्वार हुनुहुन्छ।

तोकिएको समयभित्र भरतपुरको मेयरका १ उम्मेद्वार र उपमेयरका २ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए। मेयरमा स्वतन्त्रतर्फका दुर्गाप्रसाद शर्मा र उपमेयरमा स्वतन्त्र उमेदवारी दिनुभएका भोजराज कौडाल र रविचन्द्र अधिकारीले फिर्ता लिनुभएको छ ।

शर्मा विप्लव नेतृत्वको माओवादीका भरतपुर महानगर इन्चार्ज हुन्। कौडाल कांग्रेस र अधिकारी माओवादी केन्द्रका हुनुहुन्छ ।