जनता टाइम्स

१७ बैशाख २०७९, शनिबार १९:५८

भीम रावलको गृहजिल्लामा एमाले-समाजवाद र एमाले-माओवादीबीच तालमेल, सूर्य चिन्हबाटै चुनाव लडने


अछाम, बैशाख १७ । एमाले नेता भीम रावलको गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।मेल्लेखमा सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो ।

दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ । सहमतिसँगै समाजवादीबाट अध्यक्षमा मनोनयन दर्ता गरेका डम्बर नेपाली र एमालेबाट उपाध्यक्षमा उम्मेदवार एमालेकी चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यस्तै अछामकै साँफेबगर नगरपालिकामा पनि एमाले र माओवादीको तालमेल भएको छ । त्यहाँ माओवादीका उम्मेदवारहरू सूर्य चुनाव चिन्हबाटै लड्ने गरी सहमति गरेका हुन् । जसअनुसार पशुपति कुँवरलाई एमाले प्रमुखको उम्मेदवार बनाइको छ भने माओवादीको तर्फबाट रणबहादुर थापाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

उहाँहरू दुवै सूर्य चुनाव चिन्हमा लड्ने गरी सहमति भएको छ। साँफेबगरमा माओवादीले वडासम्मै सूर्यबाट लड्ने गरी तालमेल भएको छ ।