काठमाडौं, बैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्न आह्वान गर्नुभएको छ । १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।
‘यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु,’ राष्ट्रपतिले भन्नुभएको छ । उहाँले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने पनि बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको स्मरण गराउनु भएको छ । ‘न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो,’ राष्ट्पतिले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्