जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार २०:०१

कांग्रेस र माओवादीका चर्चित नेता एमालेमा प्रवेश


दोलखा, बैशाख १९ । नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग चुनावी गठबन्धन निकै महंगोसावित भएको छ । जिल्लामा खासै जनाधार नभएको दलसँग गठबन्धन गर्दा कांग्रेसभित्र बिद्रोहको क्रम जारी रहेको छ ।
यही क्रममा आज कालिञ्चोक गाउँपालिकामा पुराना कांग्रेस नेता आफ्नो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले कालिञ्चोक गाउँपालिका बडा नं २ बाबरेमा आयोजित चुनावी सभाको क्रममा लालबहादुर थामीको नेतृत्वमा वडाध्यक्षका उम्मेदवारसहित सिंगो गाउँका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । नेपाली कांग्रेसको गाउँ अध्यक्ष हुँदै बिभिन्न जिम्मेवारी पूरा गर्नुभएका थामी २६ वर्षदेखि नेपाली कांग्रेसको आवद्वता तोडेर एमाले रोज्नुभएको हो । उहाँसहित १ सय भन्दा बढी वडाका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका २ बाबरेका पूर्वपार्टी इञ्चार्ज मधुकर थामी पनि एमाले प्रवेश गर्नुभएको छ । २०५१ देखि नेकपा माओवादीमा आवद्व थामी एमाले मात्रै सही कम्युनिष्ट पार्टी रहेको निश्कर्षसहित एमालेप्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमालेबाट कालिञ्चोक गाउँपालिकाका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीसहित एमाले बागमति प्रदेश सदस्य बालकृष्ण शिवाकोटी रडवल पाण्डेसहितका नेताहरुले स्वागत गर्नुभएको छ ।