जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार २१:४७

चुनावपछि प्रचण्ड-माधवको राजनीतिक हैसियत सकिन्छ : एमाले महासचिव पोखरेल


काठमाडौं, बैशाख २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको हैसियत सकिने ठोकुवा गर्नुभएको छ । मुलुकको राजनीति दुईदलीय ध्रुबीकरणमा प्रवेश गरिरहेका बेला प्रचण्ड र माधव नेपाल कांग्रेस नेतृत्वको बुर्जुवा शक्तिको सहयोगी बनेकोले राजनीतिक हैसियत सकिने पोखरेलले बताउनु भयो ।

आसन्न चुनावबाटै एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै महासचिव पोखरेलले निर्वाचनपछि प्रचण्डले नेतृत्व गरिरहेको माओवादी केन्द्र र नेकपा एसका नेता–कार्यकर्ताहरूले ध्रुबीकरणलाई साथ दिएर एमाले प्रवेशको लहर चल्ने पनि बताउनुभयो । ‘नेपालको राजनीति अब बुर्जुवा र श्रमजीवी वर्गको राजनीतिमा ध्रुबीकृत हुन्छ, यो ध्रुबीकरणमा प्रचण्ड र माधव नेपाल बुर्जुवा शक्तिको सहयोगीका रूपमा खडा हुनुभएको छ, प्रचण्डले किङ मेकरको हैसियत गुमाउनुभो, यसरी उहाँहरूले हैसियत गुमाउँदै जानुको अर्थ ध्रुबीकरणले सार्थकता पाउँदैछ भन्ने हो,’ आज काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भन्नुभयो ।

मुलुक निर्माणमा बलियो राष्ट्रिय शक्ति आवश्यक भएको अहिलेसम्मका राजनीतिक अभ्यास र अनुभवले देखाइसकेको दाबी गर्नुहुँदै पोखरेलले त्यसका लागि तीब्र ध्रुबीकरणसँगै मुलुकलाई दुईदलीय अभ्यासतिर लैजानुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । तर, त्यसको अर्थ संविधान र कानुनले निषेध गर्ने भन्दा पनि अभ्यास र अनुभवका आधारमा मुलुकलाई एमाले र कांग्रेस केन्द्र हुनेगरी ध्रुबीकरणमा लैजानुपर्ने उहाँको भनाई छ ।

‘नेपालको पछिल्लो क्रान्तिले कुनै वर्गलाई राज्यसत्ताको जिम्मा लगाएकै छैन, त्यसैले चुनावमार्फत ध्रुबीकरण गर्दै प्रभुत्व स्थापित गर्न सकिन्छ, बहुपार्टीबाट दुई पार्टीतर्फ लैजान सकिन्छ’ पोखरेलले भन्नुभयो ,‘राष्ट्र निर्माणमा नीतिगत नेतृत्व प्रभावकारी हुनुपर्छ, गठबन्धनले नीतिगत विचलन हुन्छ । जति धेरै दल त्यति धेरै अस्थिरता, वैदेशिक चलखेल । त्यसैले नेपाल जस्तो मुलुकमा बलियो शक्ति आवश्यक छ, त्यो शक्तिका रूपमा एमालेलाई स्थापित गर्न सकिन्छ र यही मान्यतामा उभिएर नेपाल बनाउन सकिन्छ ।’

स्थानीय चुनाव एमालेको एक मात्र एजेण्डा भएकाले अहिलेको जनमत पार्टीको पक्षमा देखिएको उहाँको दाबी छ । ‘स्थानीय चुनाव सत्ता पक्षले चाहेको चुनाव होइन । प्रतिपक्षको दबाब, संविधान र कानुनले बाध्य बनाएको हो । त्यही भएर चुनावी अभियानमा सत्ता पक्ष रक्षात्मक र हामी आक्रमक छौं । यसकारण पनि हामी जनमत आर्जन गर्दैछौं ।’ महासचिव पोखरेलले भन्नुभयो ।

नेपाल बनेन भन्ने ज्यादा गुनासो हुने गरे पनि बलियो राष्ट्र र बलियो राष्ट्रिय शक्ति बन्नै लाग्दा जहिले पनि त्यस्तो शक्तिलाई विभाजन गर्ने गरिएको दृष्टान्त महासचिव पोखरेलले प्रस्तुत गर्नुभयो । ‘२०५१ सालपछि बलियो राष्ट्रिय शक्तिका रूपमा विकास हुनै लाग्दा एमालेलाई विभाजन गरियो, ०७४ को निर्वाचनबाट त्यो सम्भावना फेरि देखिएपछि केपी शर्मा ओली नेतृत्वको एकीकृत पार्टीलाई फेरि विभाजन गरियो’ पोखरेलले थप विश्लेषण गर्दै भन्नुभयो, ‘सिंगापुरमा लिक्वान यू अगाडि बढ्न खोज्दा उहाँले यस्तै संकट ब्यर्होनुपरेको थियो तर उहाँकै नेतृत्वमा सिंगापुरको निर्माण भयो ।

मलेसियामा महाथिरले पार्टी विभाजनको संकट व्यर्होनुपर्यो, उत्तराधिकारी हस्तान्तरण गरेपछि पनि पार्टीमै फर्किएर नेतृत्व गर्नुपर्यो र मलेसिया बनेरै छाड्यो । अहिले केपी ओली र उहाँले नेतृत्व गरेको समूहमाथि त्यस्तै हमला छ, हामी सही ठाउँमा जाने प्रयत्नमा छौं र यो हमलालाई जित्दा नेपाल बन्नेछ । केपी ओली सफल हुँदा राष्ट्र निर्माणको प्रक्रिया अगाडि बढ्छ ।’ पार्टी विभाजन गर्दैगर्दा प्रचण्ड–नेपालले अध्यक्ष ओलीमाथि लगाएको गम्भीर पाँचओटा आरोपहरू समयक्रममा तथ्यहरूले खण्डित गरिसकेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले एमाले सही ठाउँमा रहेको बताउनुभयो ।

‘उहाँहरुले अध्यक्ष कमरेडमाथि नेकपा विभाजित गर्न खोजेको गम्भीर आरोप लगाउनुभएको थियो । परिणाम प्रचण्डले नेतृत्व गरेको पार्टीमा अहिले पूर्व माओवादीको मात्रै वर्चश्व छ, नेकपा धारको नेतृत्व नै छैन । माधवजीले फरक समूह बनाउनुभो । तर केपी ओलीले नेतृत्व गरेको एमाले पूर्व माओवादीसहित नेकपाको निरन्तरताका रूपमा रहेको छ ।’

नेकपा भएसम्म एक व्यक्ति, एक पदको नीति लागू गर्नुपर्ने माग चर्काए पनि प्रचण्ड र नेपालले पार्टी विभाजन गरेर आफैंले त्यसलाई लागू नगरेको र समान हैसियतको झलनाथ खनाललाई भूमिकाविहीन बनाएको उहाँको भनाई छ ।केपी ओली नेतृत्वको सरकारले ‘र’ को ठाउँमा ‘वा’ राखेर अध्यादेश जारी गर्दा बहुमतबाट फिर्ता गराउने प्रचण्ड र माधव नेपाल मिलेर ४० प्रतिशतका ठाउँमा २० प्रतिशत पुर्याएर पार्टी विभाजन गराएको, केपी ओली नेतृत्वको सरकारलाई राष्ट्रिय सहमति नभएसम्म एमसिसी पारित नगर्न घेराबन्दी गरेको तर पछि एमालेलाई बाईपास गराएर संसदबाट पारित गर्ने कामको नेतृत्व प्रचण्ड–माधवले गरेको उहाँको भनाई थियो ।

केपी ओलीको नेतृत्वमा चुनाव गर्दा पार्टी पराजित हुने निष्कर्ष निकाल्नेहरुले नै अहिले लड्ने सामथ्र्य गुमाएर पाँच दलीय गठबन्धन बनाएको भन्दै उहाँले ती सबै तथ्यबाट प्रचण्ड–माधव नेपालले व्यक्तिगत स्वार्थमा पार्टी फुटाएको पुष्टि भएको सबिस्तार दृष्टान्त दिनुभयो ।