जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १९:०७

निर्बिरोध हुने जनप्रतिनिधिको संख्या ३९० पुग्यो : १३८ सहित एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)


काठमाडौं, बैशाख २४ । स्थानीय तह चुनाव २०७९ मा देशभर ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । यसअघि निर्विरोध हुने प्रतिनिधि ३५२ जना रहेको निर्वाचन आयोगले जनाएको थियो ।

आयोगले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकअनुसार निर्विरोध निर्वाचित हुनेको संख्या ३९० पुगेको हो । अहिले यो संख्या केही बढेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिगराम शर्मा पौडैलले पहिला प्रावधिक कारणले गर्दा कतिपय स्थानीय तहको तथ्यांक अपडेट गर्न बाँकी देखिएकोले कम देखिएको बताउनु भयो ।

निर्बिरोध हुनेमा नेकपा एमालेको संख्या धेरै देखिएको छ । एमालेका तर्फबाट १३८ जना निर्विरोध हुँदा कांग्रेसका तर्फबाट ११५ जना मात्रै रहेका छन । यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट ५९ जना, नेकपा एकीकृत समाजवादी (एस) बाट ३५ जना र स्वतन्त्र ३५ जना अन्य दलबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्बिरोध हुनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ । कर्णालीमा १५७ जना निर्विरोध भएका छन । यस्तै सवैभन्दा कम लुम्बिनीमा देखिएको छ । लुम्बिनीमा जम्मा ८ जना मात्रै निर्बिरोध भएका छन ।

कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला लगायतको जिल्लामा बढी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कर्णालीपछि गण्डकी प्रदेश देखिएको छ । गण्डकीमा ११२ जना निर्वरोध भएका छन । यस्तै प्रदेश १ मा ४३ जना, बागमती प्रदेशमा ४६ जना, सुदूरपश्चिम प्रदेशमा १५ जना र मधेस प्रदेशमा ९ जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार निर्विरोध निर्वाचित हुने स्थानीय तहको अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षमा महिलाको उपस्थिति ३.६३ प्रतिशत देखिएको छ । देशभर ३९० जना निर्विरोध निर्वाचित भएकोमा ६३.३ प्रतिशत महिला देखिए पनि उनीहरूको उपस्थिति सदस्यहरूमा मात्रै रहेको छ । सदस्यमध्ये महिला सदस्य र दलित सदस्य आरक्षित पदबाहेक वडाध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्षमा भने महिलाको उपस्थिति कम देखिएको हो ।

आयोगका अनुसार ३ ओटा पालिकाका अध्यक्ष निर्विरोध हुँदा तीनै जना पुरूष रहेका छन भने ४ जना उपाध्यक्ष निर्विरोध हुँदा डोल्पालको काईके गाउँपालिकामा कांग्रेसकी निमा बुढा निर्विरोध हुनुभएको छ । अन्य ३ मा पुरूष रहेका छन् । ४८ जना वडाध्यक्ष निर्विरोध हुँदा १ जना मात्रै महिला रहेकी छन । ४८ मध्ये हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ४ को अध्यक्षमा नेपाली कांग्रेसकी ४३ वर्षीय रंगमति शाही निर्विरोध हुनुभएको छ भने ४७ जना भने पुरुष रहेका छन ।

एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन बन्दा पनि १३८ जना जनप्रतिनिधि निर्बिरोध हुनु सामान्य बिषय नभएको बताउनु भयो । ‘एउटा दलले उम्मेदवारी दिँदा छुटन सामान्य बिषय होला, तर गठबन्धन बनाउँदा पनि १३८ जना उम्मेदवार दिन नसक्नु सामान्य होइन, यस्ले देशभर एमालेको पक्षमा जनलहर छ भन्ने प्रष्ट पार्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।