झापा, बैशाख २७ । नेकपा (एकीकृत समावादी)बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किनुभएको छ।एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किनुएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उहाँले एमालेमै फर्किएको घोषणा गर्नुभएको हो । एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो ।
जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तर्राष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिनँ ।’
विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :–
म भूपेन्द्रनारायण राजवंशीलाई गौरीगञ्ज गाउँपालिकाका जनताले गर्नुभएको अपार समर्थनलाई हार्दिक अभिनन्दन गर्दछु । मैले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । मेरो उम्मेदवारीलाई गाउँपालिकाका जनताले दिनुभएको समर्थनबाट म अति नै उत्साहित भएको छु ।
आदरणीय गौरीगञ्जवासी नागरिकहरु,
१) यो निर्वाचनमा म व्यक्तिगत रुपमा निर्वाचित हुने नै थिएँ । तर, म एकजना व्यक्ति निर्वाचित हुनु या पराजित हुनु समग्र राष्ट्रिय राजनीतिका लागि कुनै ठूलो कुरा होइन । यो निर्वाचनमा कुन पार्टी निर्वाचित हुन्छ भन्ने नै मुख्य कुरा हो । म एकजना व्यक्ति निर्वाचित हुने तर आफू लागेको पार्टी चाहिँ समाप्त हुने कुरा मलाई मान्य भएन । मलाई पार्टीमा नै लागेको छु भन्ने लागेको थियो तर समयक्रमले म संलग्न भएको पार्टी वास्तवमा पार्टी नभएर नेपाली कांग्रेस र माओवादी केन्द्रले सिर्जना गरेको एउटा गिरोह मात्र रहेछ ।
२) नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन ।
३) म एक इमानदार जनसेवक कम्युनिष्ट हो । म सत्य र तथ्य सदैव स्वीकार गर्दछु । म जनतालाई स्वीकार गर्दछु । म संलग्न रहँदै आएको माधव नेपालजीको समूहले मलाई सहित धेरैजना कमरेडहरुलाई भ्रममा पार्दै आयो । गुमराहमा पार्दै आयो । सत्य के रहेछ भने नेपाल र नेपाली जनताको सच्चा सेवक पार्टी नेकपा एमाले नै रहेछ । नेकपा एमालेको निर्माणमा मेरो पनि रगत पसिना सिंचित भएको गौरीगञ्जवासी जनतालाई थाहा भएकै कुरा हो । सही बाटोमा नेकपा एमाले नै छ भनेर गौरीगञ्जवासीले भनिरहेकै हुन् । जनताको इच्छा, राष्ट्रिय राजनीतिको आवश्यकता, गौरीगञ्जवासीको विकास निर्माण र समृद्धिको चाहना मुताबिक म आफ्नो प्यारो पार्टी नेकपा एमालेमै समाहित भएको घोषणा गर्दछु ।
४) नेपाली जनता तथा गौरीगञ्जका जनताले नेकपा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीले विगतमा गर्नुभएको कामको वर्णन गरिरहेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरु गरेको छ । यो तथ्यलाई ढाकछोप गर्ने प्रयास कांग्रेसले गर्नुलाई म अन्यथा ठान्दिन । तर, माधवकुमार नेपाल तथा प्रचण्डजीहरुले समेत निजी स्वार्थ र कुण्ठाबाट प्रेरित भई केपी शर्मा ओली तथा नेकपा एमाले विरुद्ध भ्रम फैलाउने अभियान चलाइरहनुभएको छैन । सत्यको ढाकछोप गरेर मिथ्याको पक्ष लिन मैले सकिनँ । त्यसैले आफ्नो प्यारो पार्टी नेकपा एमालेमै समाहित भएको घोषणा गर्दछु ।
५) भ्रममा परेर, बाटो बिराएर नेकपा एमालेबाट बाहिरिनुभएका समस्त साथीहरुलाई केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै फर्कन हामी आव्हान गर्दछौं ।
आदरणीय गौरीगञ्जवासी तथा समस्त नेपाली जनताहरु,
म के अपिल गर्दछु भने यो स्थानीय चुनाव सत्य र झुठ बीचको लडाई हो, सत्य र असत्य बीचको लडाई हो । सत्य र असत्य बीचको लडाई पर्दा म जस्तो जनसेवक राजनीतिकर्मीले असत्यको पक्ष किमार्थ लिन सक्दिनँ । त्यसैले मैले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने घोषणा गरेको छु ।
गौरीगञ्जका जनतालाई म पटक्कै भ्रममा नपर्न अपिल गर्दछु । गौरीगञ्जका जनताको हित, गौरीगञ्जको विकास र समृद्धि नेकपा एमालेको नेतृत्वबाट मात्र सम्भव छ भन्ने ठहर म तथा मेरा सहकर्मी कमरेडहरुका रहेको छ । त्यसैले हामी उम्मेदवारी त्याग गरेर नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछौं । नेकपा एमालेको अब निर्वाचित हुने टिम मार्फत हामी गौरीगञ्जको विकास निर्माण र समृद्धिमा लागिपर्ने छौं ।
स्थानीय तहको चुनावमा सूर्य चिन्हमा मतदान गरेर विकासप्रेमी, जनप्रेमी पार्टी नेकपा एमालेलाई विजयी बनाउन हार्दिक अपिल गर्दछौं ।
नेकपा एमाले जिन्दावाद ।
राजनेता केपी शर्मा ओली जिन्दावाद ।
गौरिगञ्जका जनता जिन्दावाद ।
नेपाली जनता जिन्दावाद ।
सूर्य चिन्ह जिन्दावाद ।
भूपनारायण राजवंशी













प्रतिक्रिया दिनुहोस्