जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०९:४२

एमाले कार्यकर्ताको अपहरणपछि हत्या : माओवादीका उम्मेदवारसहित तीन कार्यकर्ता पक्राउ


रुपन्देही, २८ बैशाख । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएपछि झडप भएको थियो । सो झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो ।

शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उहाँको शवलाई बुटवल ल्याएका हुन् । एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम बुटवलमा भइरहेको जानकारी दिनुभयो। रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ ।

सो गाउँपालिका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुनकुमार बुढा पक्राउ परेका हुन् । सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताउनुभयो । उहाँले घटनाको वास्तविकताका लागि आफैले शव पोष्टमार्टम गर्न बुटवल ल्याएको बताउनुभयो। मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भएपनि प्रहरीले छानविनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गर्नुभयो ।