काठमाडौँ, जेठ ३ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको तथ्य खोल्नु भएको छ । पाँच दलीय गठबन्धनमा रहनुभएका भट्टराईले मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो तथ्य खोल्नु भएको हो ।
उहाँले आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताउनु भयो । गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको उहाँको भनाइ थियो ।
‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, यो स्थानीय तहका मुद्दाहरु, स्थानीय जनतालाई पार्टी नेताहरुलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन,’ भट्टराईले भन्नुभयो, ‘त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरुलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरुले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो । तर त्यो पनि उहाँहरु आपसमा तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन । त्यस अर्थमा पनि स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने मेरो राय हो त्यसमा म अहिले पनि दृढ छु ।’
जनता समाजवादी पार्टी अहिलेसम्मको नतिजाअनुसार ३ ठाउँमा विजयी भएको छ भने ३१ पालिकामा अगाडि रहेको छ । जसपाले अहिलेसम्म ओखलढुंगाको खिजिदेम्बा, धनुषाको जनकनन्दिनी र बाराको करैयामाईमा प्रमुख पद जितेको छ । भट्टराईको गृहनगर पालुङटारमा जसपाले एमालेसँग तालमेल गरेको थियो । जसपाले मेयर पद लिएर एमालेले उपमेयर लिने सहमति भएको थियो ।













प्रतिक्रिया दिनुहोस्