जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १३:३६

उद्योगमन्त्री बडूले संसदमा जथाभावी बोलेपछि


काठमाडौं, जेठ १३ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदीइ मर्यादाबिपरित बोलेपछि संसदमा हंगामा भएको छ । मन्त्री बडुले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि प्रतिनिधि सभाको आजको बैठकमा हंगामा भएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्नुभएका मन्त्री बडूले एमाले अध्यक्ष ओलीले सदनमा पूर्वाग्रहपूर्ण टिप्पणी गरेको आरोप लगाउनुभयो । सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा ओलीले उठाउनुभएका एक एक बिषयको जवाफ दिनुको साटो मन्त्री बडूले उल्टै गम्भीर आक्षेप लगाउनु भयो ।

नीति तथा कार्यक्रममाथि छलफलका क्रममा ओलीले दिएको अभिव्यक्ति स्तरहीन भएको मन्त्री बडुले आरोप लगाउनुभयो । सदनको रोष्टम प्रयोग गरेर ओलीले जनतालाई आधारहीन र झुठा सन्देश सम्प्रेषण गरेको भन्दै बडूले आफू मन्त्री होइन कि जसरी प्रस्तुत हुनुभयो ।

मन्त्री बडु आपत्तिजनक अभिब्यक्तिमा पुगेपछि एमाले सांसद् खगराज अधिकारीले नियमापत्ति जनाउनुभयो । जथाभावी बोल्न मन्त्रीलाई छुट नभएको भन्दै अधिकारीले बडूले शब्द फिर्ता लिनुपर्ने बताउनुभयो । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि काुननमन्त्री बडूले आफ्नो सम्बोधन जारी राख्नुभयो । त्यसक्रममा बडूले निरन्तर ओलीमाथि आपत्तिजनक शब्द प्रयोग गरेपछि एमाले सांसदहरु प्रतिवादमा उत्रिए । सवै सांसद उठेर विरोध गरे ।

एमालेको आपत्तिपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभयो । भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि मन्त्रीले गरेको टिप्पणी गलत भएकाले रेकर्डबाट हटाउन माग गर्नुभयो । सभामुखले सो विषयमा हेरेर निर्णय लिने बताउनुभयो । त्यसपछि फेरि बडूलाई बोल्न समय दिनुभयो । बडूले ‘साउनमा दृष्टि गुमाएको गोरुले सधैं हरियो देख्छ भनेझैँ,आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र ?’ भन्दै नेपाल आयल निगमबारे ओलीले उठाएको प्रश्नको जवाफ दिनुको साटो थप आरोप लगाउनु भयो ।

एमाले सांसद्ले फेरि उठेर विरोध गरे । सभामुखले फेरि एमाले सांसद् अधिकारीलाई बोल्न समय दिनुभयो । आयल निगमबारे संसदीय छानबिन समिति गठन गर्न सुझाव दिनुभयो र ओलीमाथि प्रयोग गरिएको शब्द फिर्ता लिन ध्यानाकर्षण गराउनुभयो । ओलीमाथि गरिए टिप्पणी रेकर्डबाट हटाउनुपर्ने भन्दै एमाले सांसद्ले विरोध गरिरहे । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको छ ।