काठमाडौं, १५ जेठ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट अनुशासनको सीमामा रहेर नआएको बताउनुभएको छ । ‘चुनावमा भोट बढ्छ भन्ने मात्रै हिसाब गरेको छ,’ संसद भवनबाहिर पत्रकार हरुसँग कुरा गर्दैै उहाँले भन्नुभयो, ‘जम्मै कुरा भनिदिएपछि भोट बढ्छ भन्ने मनसाय राखेको छ । त्यसकारण यसले आफूलाई अनुशासनको सीमामा पनि राखेको छैन ।’ लेख्न सकिने जति सबै कुरा बजेटमा राखेको टिप्पणी गर्दै पाण्डेले कार्यान्वयनमा भने ध्यान नदिएको बताउनुभयो ।
‘बजेटको आकार पनि ठूलो छ । कार्यान्वयनतर्फ यसको ध्यानै छैन । चुनावी वर्ष हो र चुनावपछि नयाँ सरकार बन्छ भन्ने कुरा यसले हेक्कै राखेको छैन,’ उहाँले भन्नुभयो । सरकारले बजेटमा किसानलाई पेन्सन दिने योजना ल्याएको भए पनि त्यो कार्यान्वयन गर्न सम्भव नरहेको पाण्डको दाबी छ । ‘किसानलाई १० प्रतिशतसम्म सञ्चय कोष दिन्छु भनेको छ,’ उहाँले भन्नुभयो , ‘किसानले बेचेकोबाट १० प्रतिशत सरकारले थपिदिने कुरा गरेको छ । झण्डै डेढ करोड किसानलाई सञ्चय कोष दिने जो कुरा गरेको छ । यत्रो संख्यालाई सञ्चय कोष दिन्छु भन्यो भने यसको व्ययभार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने आफैं कल्पना गर्न सकिन्छ ।’ त्यसलाई पूरा गर्न नसकिने कुरा कर्मचारी सञ्चय कोष व्यवस्थापन गर्न सरकारले भोगिरहेको कठिनाइबाटै थाहा हुने पाण्डेको भनाइ छ। नीति कार्यक्रम र बजेटबीचमा कुनै सन्तुलन नभएको बताएका पाण्डे साना योजना तल हस्तान्तरण गर्ने कुरा भए पनि त्यसो नगरिएको टिप्पणी गर्नुभयो ।
यसैवीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आ.व. २०७९÷८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आाउन नसकेको बताउनुभएको छ ।
संसदमा आ.व. २०७९÷८० को बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष भट्टराईले रुपान्तरणकारी ढंगका योजनाहरु आउन नसकेको बताउनुभएको हो । उहाँले ६८ वर्षमा वृद्ध भत्ता दिने घोषणाको विरोध गर्दै आफुपनि वृद्धभत्ता नलिने घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘प्रशासनिक सुधारका सामान्य सुधार त छन्, तर हाम्रो व्यूरोक्रेसी, न्याय प्रशासन विकासमैत्री छैन । यसलाई परिवर्तन गर्ने ढंगका जुन रुपान्तरणकारी ढंगका योजना आउनुपथ्र्यो त्यो पनि आएका छैनन् । सामाजिक सुरक्षा जस्ता विषयहरुमा पनि निरन्तरताका कुरा छन् । एउटा कुरा मैले भन्नैपर्छ, म पनि अब ६८ वर्ष पुग्दैछु । यो घटाउनु आवश्यक थिएन । मेरो विचारमा यस्तो छरिएका सामाजिक सुरक्षा भत्ताभन्दा एकिकृत प्रकारको सामाजिक सुरक्षा आउनुपथ्र्यो । पुरानै ढंगले आयो त्यसैले स्वेच्छाले म यो ६८ वर्ष पास गरिसकेको मान्छे हुनाले त्यो वृद्ध भन्दा मैले पनि पाउने भए म यो गरिब देशको वृद्धभत्ता ग्रहण गरेर जनतामाथि बोझ थोपर्न चाहान्न । त्यो म नलिने घोषणा गर्दछु ।’
प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको बताउनुभयो । बजेटले वित्तिय अनुशासन कायम गर्न नसकेको बताउनुभयो । उहाँले गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यो बजेटमा कुनै विश्वसनीयता छैन । कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन । आर्थिक संकटलाई सम्बोधन गर्न सकेन । वित्तिय संकटहरुलाई सम्बोधन गर्न सकेन । विकास परियोजनाका सम्बन्धमा समेत यसले जुन उचाइका साथ सम्बोधन गर्नुपर्ने थियो गर्न सकेन । वित्तिय अनुशासन कायम गर्न पनि सकेन । स्वास्थ बिमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्यमाथि गम्भिर खेलवाड ग¥यो । सामाजिक सुरक्षाको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, आर्थिक उत्पादनको क्षेत्रमा र वित्तिय विचलन भएको क्षेत्र र हामीले भुक्तानी सन्तुलनलाई कायम गर्ने सन्दर्भमा समेत सम्बोधन गर्न सकेन । बेरोजगारलाई रोजगार दिन सक्ने कुरा पनि केही गरेन । यसले गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न सकेन ।’
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचनलाई केन्द्रीत गरेर पपुलिष्ट बजेट ल्याइएको बताउनुभयो । बजेट कार्यान्वयन गर्न गाह्रो हुने र कुनैपनि कुरा पुरा नहुने उहाँले बताउनुभयो ।नेकपा(एमाले)का सांसद भीम रावलले बजेटले उपभोग नहुने बस्तुहरु आयात रोक्ने कुरा नगरेको बताउनुभयो । खर्च बढाएको उहाँको टिप्पणी छ । कार्यक्रम कार्यान्वयन गर्ने क्षमता सरकारसँग नभएको उहाँले बताउनुभयो ।
नेकपा(एमाले)का सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गर्नुभयो । सरकारले आफ्नो सिमा र हैसियत बिर्सेर बजेट ल्याएको उहाँको भनाई छ । उहाँले अर्थमन्त्रीको पदीय हैसियतलाई दुरुपयोग गरेर चुनावमा भोट बटुल्नका लागि मात्रै बजेट आएको बताउनुभयो ।उहाँले सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा हुन नसक्ने बताउनुभयो । निश्चित नेताहरुलाई लक्षित गरेर बजेट आएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्