बिराटनगर, जेठ २७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनबाट प्राप्त सिट तलमाथि भए पनि मुलुकमा एमाले नै सवैभन्दा ठूलो पार्टी रहेको तथ्य स्थापित भएको बताउनु भएको छ ।
एमाले मोरङले विराटनगरस्थित कञ्चनजंगा ब्याङ्केटमा आज आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध एक्लै चुनाव लड्ने आँट कसैको पनि नभएको विश्लेषण विपक्षी र विश्व जगतले नै गरेको बताउनु भयो । ‘एमालेविरुद्ध सबै दलले धूरा कसेर चुनाव लडे । तर पनि प्रतिस्पर्धा गर्नसक्ने असाधारण क्षमता एमालेसँग रहेको चुनावबाट पुष्टि भयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘केही सिट तलमाथि भए पनि एमाले नै पहिलो पार्टी हो । प्राप्त भएको लोकप्रिय मतले एमालेसँग कसैले पनि सक्दैनन भन्ने विश्लेषण धेरै कोणबाट भएको छ ।’
सत्तारुढ पाँच दलीय गठबन्धनले प्राप्त गरेको मत एउटा दलको मात्रै नभएको उहाँको भनाइए छ । ‘गठबन्धनको भोट एउटा दलको मात्रै हैन । त्यो थालमा जुठा गाँसहरु पनि परेका छन । एमालेले आफ्नै भोट पाएको हो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले सत्ता गठबन्धन टुटफुट भएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जाँदा धुलोपिठो हुने ठोकुवा पनि ओलीले गर्नुभयो ।
‘बहुदलीय र लोकतान्त्रिक संसदीय प्रणालीमा सबै दलहरु एकातिर हुँदा पनि एमाले एक्लैले चुनाव लडेको दुनियाले देखेको छ । एउटा शक्तिविरुद्ध सबै धूरा पसेर लड्ने युद्धको नियम कही छैन । कायरले मात्रै त्यसो गर्छन्,’ ओलीले भन्नुभयो, ‘अहिले गठबन्धन एकातिर र जनता एकातिर गरेर मुलुकमा दुईवटा शक्ति बनेका छन । गठबन्धन फुटेमा त्यसमा रहेका दलहरु सकिन्छन । त्यही भएकाले गठबन्धन टुटाउन उनीहरु चाहँदैनन ।’ उहाँले अन्य दलसँग तुलना नै गर्न नसक्ने गरी एमाले मजबुत भएको तथ्य पनि राख्नुभयो ।
ओलीले फुटाउनेभन्दा पनि गठबन्धनलाई एकमुष्ठ हराउनेबाहेक अर्को विकल्प नभएको बताउनु भयो । ‘समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्नु छ । राष्ट्रियता र सुशासनका लागि लड्नु छ । एमाले मुलुक बनाउने कुरामा प्रतिस्पर्धा गर्छ, एमालेले त्यो सामर्थ्य देखाएको छ । हामी आगामी तयारीमा पनि जुटिसकेका छौँ । देश बचाउने र विकासको अभियान चलाउने नायकका रूपमा एमाले स्थापित भइसकेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले उच्च मनोवलका साथ आगामी चुनावको तयारीमा जुट्न सवै नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि दिनुभएको अभिब्यक्तिको पनि जवाफ दिनुभयो । ‘कोही नेताले गरेको भाषण सुनियो । यसो नाप्दा त उचाई एमालेको कम्मरकम्मर पनि छैन । मुस्किलले घुँडासम्मको उचाइ रहेछ,’ अध्यक्ष ओलीले प्रचण्डप्रति ब्यंग्य गर्दै भन्नुभयो, ‘एमाले जत्तिको भएको भए त झन के गर्थे होलान, मान्छे कुट्दै हिँड्थे । पहिले त मारेका पनि हुन ।’
प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेकोजस्तो हालत बनाउने चेतावनी दिनुभएको थियो । ‘आफ्नो हालत र हैसियत के छ भनेर पत्तो नपाउनेले एमालेसँग जोडेर यस्तो धाक लगाएछन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जस्ले जे भने पनि तथ्यले स्थापित गरिसक्यो, अरु पार्टीसँग एमालेको तुलनै हुन सक्दैन ।’ एमाले अध्यक्ष ओलीले आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने भाषण अर्थमन्त्रीले गर्नु हावादारी कुरा भएको दृष्टान्त पनि राख्नुभयो । ‘यो हावादारी कुराभन्दा अरु केही हैन । अर्थशास्त्रीलाई सोध्दा थाहा भइहाल्छ, अर्थमन्त्री जस्तो व्यक्तिलाई यस्तो कुरा थाहा हुनुपर्ने हो । यस्तो असम्भव कुरा कहाँबाट आयो ? कसैलाई थाहा छैन ।’
आफूले चुनावको मिति तोकेर संसद विघटन गर्दासमेत प्रतिगमनको आरोप लगाइएको भन्दै कडा जवाफ दिनुुभयो । उहाँले शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चैँ प्रतिगमन भएको तथ्य राख्नुभयो । ‘शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चैँ प्रतिगमन भएकै हो । शेरबहादुरजी त संसद विघटन गरेर ज्ञानेन्द्रको पाउमा परिसक्नु भएको थियो, हामीले आन्दोलन गरेर त्यसलाई बचायौँ । संसदीय व्यवस्था कायम गर्न सक्यौं,’ ओलीले भन्नुभयो ।

उहाँले प्रतिगमन भन्ने शब्द सुनेर चुप नलाग्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । ‘आवधिक निर्वाचन कही प्रतिगमन हुन्छ ? प्रतिगमन भनेको कुरा सुनेर चुप लाग्ने होइन, नाकमा औंलो ठड्याएर प्रतिगमन के हो, प्रतिगमनकारी को हो भनेर सोध्नुपर्छ,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो ।
देउवाले संसद भंग गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया र माओवादीका पालामा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलो संविधानसभा भंग गर्नु चाँहि प्रतिगमन भएको उहाँले बताउनु भयो । ‘हामीले त निर्वाचनको मिति तोकेर संसद भंग गरेको हो । त्यसलाई प्रतिगमन भन्न मिल्दैन, अहिलेकोजस्तो सरकार नरहोस भनेर सुदृढ सरकारका लागि संसद भंग गरिएको हो । लोकतन्त्रमा ताजा जनादेशका लागि निर्वाचन भइरहन्छ,’ ओलीको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्