जनता टाइम्स

३१ जेष्ठ २०७९, मंगलवार १५:०४

हुम्लामै बसेर सेवा गरिरहन पाउँ : डा. छक्क


सुर्खेत, ३० जेठ । भनिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ कुनै पनि काम गर्न मनैदेखि इच्छा भए जस्तो सुकै अप्ठ्यारा समस्या पनि पूरा गर्न सकिन्छ । हुम्लाको दुर्गम ठाउँ सर्केगाड गाउँपालिका–४ दुलीका छक्क थापाले यो भनाइलाई प्रमाणित गरिदिनुभएको छ । जस्तो नाम उस्तै काम । उहाँले सबैलाई छक्क पर्ने काम गर्नुभएको छ ।

२५ वर्षीय छक्क कक्षा एकदेखि एसएलसीसम्म गाउँकै विद्यालयमा पढ्नुभयो । जहाँ रहे पनि उहाँले मिहिनेतलाई भने आफ्नो दिनचर्या बनाउनुभयो । अभावैअभाव र विकटताको भुँमरीकाबीच ०६८ सालमा उहाँले एसएलसी दिनुभयो । उहाँ सम्झनुहुन्छ,‘रातभर दियालो, झोरो, टुकी बालेर रात कटाउथ्यौं । तर मिहिनेत गर्न छाडिन ।’

पढाइमा निकै चासो र मिहिनत गर्ने उहाँ १ देखि १० कक्षासम्म सधै फस्ट सेकेण्ड हुनुभयो । उहाँले एसएलसी पनि प्रथम श्रेणीमै पास गर्नुभयो । उहाँको मिहिनेत र लगनशीलबाट उहाँ अहिले डाक्टार बन्नुभएको छ । बिपी प्रतिष्ठान मेमोरियल कलेज धरानबाट उहाँले एमबीबीएस पास गर्नुभएको हो ।

हुम्लादेखि काठमाडौंसम्मको संघर्षदायी यात्रा

छक्कको हुम्लादेखि काठमाडौंसम्मको यात्रा निकै संघर्षदायी छ । शहर र मोटरगाडी कहिल्यै नदेख्नुभएको छक्कका लागि काठमाडौं पुग्नु मात्रै पनि सपना थियो । सपनामा मात्रै देखेका सहरका ठुल्ठुला घर, चिल्ला सडक र गाडीमोटर काठमाडौंमा उहाँले आँखैअघि देख्नुभयो । शहरमा भएर पनि उहाँ ठूलो मान्छे बनेर आफ्नै ठाउँमा कहिले फर्कन पाइएला भनेर सोचमग्न हुनुहुन्थ्यो ।

उहाँसँग सोच्नबाहेक अरु कुनै उपाय थिएन । घरको आर्थिक अवस्था कमजोर थियो । छक्कलाई डाक्टर पढ्न फलामको चिउरा चपाउनु जत्तिकै थियो । तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने जस्तै । घर वरपरका छरछिमेकबाट सय, हजार सक्ने जति सहयोग जुटाएर १६ वर्षीय छक्क पैदलै सुर्खेत पुग्नुभयो ।

सुर्खेतदेखि बसमा काठमाडौँ पुग्नुभयो । ‘सुर्खेत आउनुअघिसम्म नत कुनै मोटर देखेको थिए,’ उहाँले भन्नुभयो, ‘मेरा लागि सबै नयाँ थिए ।’ सर्केगाड–४ का दुलीका छरछिमेकले सहयोग जुटाएर बिदाई गर्दा नै डाक्टर बनेर यो ठाउँमा आउनुपर्छ भनेर अठोट गरेको र जुन अहिले पूरा भएको उहाँले बताउनुभयो ।

काठमाडौं पुग्दा आर्थिक समस्या

छक्क काठमाडौं त पुगे तर गाउँमा जस्तै सहरका सबै मानिस मनकारी उहाँले पाएउनुभएन । काठमाडौँ पुग्न जति कठिन थियो, पुगेर पढ्न झनै गाह्रो भएको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो,‘आर्थिक संकट त कति हो कति झेल्नु पर्यो । कहिले त बीचमै पढाइ छोडौं लाग्थ्यो । तर फेरि हुम्लाबासीको दुःख आँखामा आइहाल्थ्यो ।’

उहाँ पढाइ खर्च जुटाउन जागिर खोज्दै हिँड्नुभयो । लामो प्रयासपछि अन्तः एउटा एनजिओमा काम पाउनुभयो । दिउँसो एनजिओका काम र साँझबिहान पढेर उाँहले लक्ष्उ पूरा गर्नुभयो ।

छक्कको लक्ष्य

छक्कको लक्ष्य भनेको अब दुर्गम हुम्लाबासीका पीडामा मलम लगाउनु मात्रै हो । हरेक पाटोबाट विकट हुम्लाका बासिन्दका घाउमा मलम लगाउँदै दुर्गमलाई सुगम बनाउने उहाँको लक्ष्य छ । उहाँले भन्नुभयो,‘मेरो एउटै लक्ष्य र उदेश्य भनेको हुम्लामै बसेर यहाँका मानिसको घाउमा मलम लगाउने हो ।’