काठमाडौं, ८ असार । ‘सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–०७९’ बाट नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनार पुरस्कृत हुनुभएको छ । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय सुनार ३० हजार रुपैया राशी र प्रमाणपत्रसहित पुरस्कृत हुनुभएको हो । सुदर्शन शारदा देवकोटा स्मृति फाउण्डेसनले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कारको स्थापना गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र फाउण्डेसनी अध्यक्ष डा. सुधा देवकोटाले काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो । स्वास्थ्य पत्रकारितामा योगदान दिएको भन्दै सुनारलाई उक्त पुरस्कार प्रदान गरिएको फाउण्डेसनकी अध्यक्ष डा. देवकोटाले बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री खापुङले पत्रकारहरुले जोखिम मोलेर विभिन्न समयमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । स्वास्थ्य क्षेत्रमा अझै पनि अग्रसर भएर कलम चलाउन राज्यमन्त्री खापुङको आग्रह थियो । देवकोटाले स्वर्गीय बुवा सुदर्शन देवकोटाको सम्झनामा वर्षेनी उक्त पुरस्कार प्रदान गरिने बताउनुभयो ।
बुवाबाट प्रेरित भएका कारण पत्रकारिता क्षेत्रको महत्व बुझेको र पत्रकारिताको सम्मान स्वरुप उक्त पुरस्कार स्थापना गरिएको उहाँले सुनाउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानले यस किसिमको पत्रकारिता पुरस्कारले पत्रकारहरुलाई काम गर्न थप हौसला मिल्ने बताउनुभयो । यस पुरस्कार गत वर्ष देखि नै उक्त स्थापना गरी हस्तान्तरण गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्