काठमाडौं, १८ असार । निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै घर शंखमूलमा छ । तर उहाँले पद छोडेको झण्डै एक साता बितिसक्दा पनि पुल्चोकस्थित सरकारी निवास छोड्न सक्नुभएको छैन । झाँक्रीले क्वार्टर खाली नगरिदिँदा गत सोमबार शहरी विकास मन्त्रीका रूपमा शपथ लिएका मेटमणि चौधरी शंखमूलस्थित डेराबाटै सिंहदरबार आउजाउ गर्नुभएको छ । ‘भेटघाट गर्न, सवारी राख्न समस्या परेको छ’, चौधरीले भन्नुभयो । मन्त्री चौधरी आज दाङ पुग्नुभएको छ ।
आफू भोलि काठमाडौं फर्किने भएकाले आजै बेलुकासम्म झाँक्रीले क्वार्टर खाली गरिदिने विश्वास उहाँले व्यक्त गर्नूभयो । झाँक्रीको सचिवालयले भने घर मर्मत गर्नुपरेकाले सरकारी निवासबाट सर्न ढिलाई भएको बताएको छ ।
डेरामा बस्ने निवर्तमान मन्त्रीहरूलाई त झट्टै सर्न समस्यै होला तर उहाँको त घरै छ, ढिला नगरिदिएको भए हुन्थ्यो, मन्त्री चौधरीका एक सहयोगीले भन्नुभयो । झाँक्री र चौधरी दुवै नेकपा एकीकृत समाजवादीका नेता हुन् । १२ असारमा मन्त्रिपरिषद् हेरफेर हुँदा झाँक्रीको ठाउँमा समाजवादीले चौधरीलाई पठाएको हो । मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा झाँक्रीले धरधरी रुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्