जनता टाइम्स

२० असार २०७९, सोमबार १४:२७

अर्थमन्त्रीमाथि संसदीय छानबिन होस्, यो भ्रष्टाचार सामान्य होइन : अध्यक्ष ओली


काठमाडौं, २० असार । संसदमा प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई÷चारजना व्यापारिक घरानाको अनुहार झल्किएको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को हुन् तिनीहरू’ ? भनेर धम्क्याएको बताउनुभयो ।

उहाँले को हुन् भनेर थर्काउने बेलासम्म भएको सीसीटिभी फुटेज अहिले आएर डिलिट भएको भन्दै गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’

दुई/चारवटा व्यापारिक घरानाले बजेट बनाएको भन्दै ओलीले प्रधानमन्त्री गठबन्धन जोगाउनेबाहेक अरु सबै कर्तव्यप्रति लाचार बनेको आरोपसमेत लगाउनुभयो । गल्ती नगरेको भए फुटेज देखाइने भन्दै ओलीले संसारमै नभएको भ्रष्टाचार र अराजकता अर्थमन्त्रीले मच्चाएको बताउनुभयो । उहाँले यस विषयमा संसदीय छानबिन समिति बनाइनुपर्ने बताउनुभयो । समितिको रिपोर्टका आधारमा कारबाही हुनुपर्ने उहाँको जोड छ ।