जनता टाइम्स

२२ असार २०७९, बुधबार ११:४५

अर्थमन्त्रीको अपराध पुष्टि हुन लागेपछि अनिश्चितकालिन बिदामा बसे अर्थसचिव


काठमाडौं, असार २२ । बिचौलियासँग मिलेमतो गरी गम्भीर अपराधको बिषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी दवाव बढेपछि माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालिन बिदामा बस्नुभएको छ । मरासिनीका सचिवालयका अनुसार मरासिनीले आफूलाई सन्चो नभएको भन्दै बुधबार र बिहीबार मन्त्रालय नआउने जानकारी दिनुभएको हो । तर उहाँले कति दिन बिदामा बस्ने भन्ने नखुलाई अनिश्चितकालिन भनेको सचिवालयको भनाई छ ।

‘सचिवज्यू हिजो साँझ पाँच बजेसम्म कार्यालयमै हुनुहुन्थ्यो। सन्चो नभएकाले आज र भोलि अफिस आउँदिनँ भन्नुभएको छ,’ मन्त्रालयका एक कर्मचारीले भन्नुभयो। आर्थिक वर्ष २०७९÷८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।

अनधिकृत रूपमा ती पूर्वनासु आउँदा सचिव मरासिनी पनि मन्त्रालयमै रहेको बताइन्छ।उक्त घटनाको सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि मन्त्रालय प्रशासनले पनि शर्माको प्रभावमा काम गरेको भन्दै आलोचना भइरहेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुरूमा अनधिकृत व्यक्ति प्रवेश गर्दा र अहिले सिसिटिभी फुटेज डिलेट गर्दा पदीय जिम्मेवारीअनुसारको काम नगरेको भन्दै अर्थसचिव मरासिनीमाथि पनि प्रश्न उठाइरहेका छन्।