जनता टाइम्स

२३ असार २०७९, बिहीबार १६:२७

प्रचण्डको प्रस्तावबिरुद्ध केन्द्रीय समितिमै होहल्ला, केन्द्रीय सदस्यले लगाए गम्भीर आरोप


काठमाडौं, असार २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै परिवारका चार जनालाई पोलिटब्यूरो सदस्य तोक्नु भएको छ । केन्द्रीय समितिको आजको बैठकमा अध्यक्ष प्रचण्डले भाई, छोरी र बुहारीलाई पोलिटब्यूरो सदस्य घोषणा गर्नुभएको हो ।

जसअनुसार पोलिटब्यूरो सदस्यमा अध्यक्ष प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पर्नुभएको छ । प्रचण्डकी अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवनलाई पनि केन्द्रीय सदस्यमा नियुक्ति पाइसकेका छन । प्रचण्डले परिवारलाई केन्द्रमा राखेर नाम प्रस्तुत गरेपछि बैठकमै पोलिटव्युरो सदस्यमा प्रस्तावित नामहरुमा केन्द्रीय सदस्यले आपत्ति जनाएका छन ।

अध्यक्ष प्रचण्डले पेश गरेको नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो । विरोधका कारण केहीबेर बैठक अवरुद्ध भएको थियो । प्रस्तावित नामप्रति नेतृत्व नै अलमलमा परेका बेला हलबाट मापदण्डमाथि प्रश्न उठाइएपछि पारित हुन सकेको छैन । प्रस्तावित नाम र विनामापदण्ड बनेको कमिटीबाट निराशा फैलिएको बैठकका सहभागीले गुनासो गरेका छन ।

मधेस प्रदेशबाट सबैभन्दा बढी विरोध भएको छ । शिवकुमार यादवलगायतले एमालेबाट २०५८ मै विद्रोह गरेकालाई अहिलेसम्म विभेद गरिएकै कारण आज एमाले बलियो बनेको र माओवादी कमजोर बनेको भन्दै आपत्ति जनाउनु भएको छ ।

बैठकमा अध्यष प्रचण्ड परिवारवादमा लिप्त बनेको र तानाशाह बनेको भन्दै कडा बिरोध भएको अर्का केन्द्रीय सदस्यले बताए । सदस्यहरुले मापदण्ड के हो भनेर प्रश्न गरेका छन । बैठकमा विवाद बढेपछि अध्यक्ष प्रचण्डले अन्तिम नामावली तय गर्न एक घण्टालाई बैठक स्थगित गर्नुभएको छ ।