काठमाडौं, असार २९ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पाँच दलीय गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष पूर्ण असफल बनेको निश्कर्ष राख्नुभएको छ ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका एमाले सचिव बिष्टले देउवा सरकार मुलुकका लागि बोझ मात्रै बनेको तथ्य यो एक बर्षे कार्यकालले प्रष्ट देखाएको बताउनु भयो । सामाजिक सञ्जालमा सरकारको एक वर्षे धारणा लेख्दै विष्टले यो सरकार बनेपछि राष्ट्रिय स्वाधिनता र आत्मसम्मान थप कमजोर बनेको उल्लेख गर्नुभएको छ ।
‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारकाबीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउने गरी बिते,’ बिष्टले भन्नुभएको छ ।
बिष्टले अगाडि थप्नुभएको छ, ‘राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो । राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गर्यो । न किसानले समयमा मल पाए न विद्यार्थीले पढ्ने पुस्तक । यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन, गैरजिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो ।’













प्रतिक्रिया दिनुहोस्