काठमाडौं, असार २९ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन । पार्टीको महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको र पार्टी काम भन्दा सेलिब्रेटी बन्ने ध्याउन्नमा लागेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको कडा आलोचना गरेका हुन् ।
केन्द्रीय समिति बैठकअघि डा. शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी हुनुभएको थियो । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको ? भनी थापामाथि प्रश्न उठाउनु भयो । बैठकमा बुढाथोकीले गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी समेत दिनुभएको छ ।
‘महामन्त्री नेता हो, तर केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईहरुलाई बहिस्कार गर्ने बेला नआओस’ बुढाथोकीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने । यस्तै केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरुले पार्टीको आलोचना गरेको भन्दै आक्रोश पोख्नुभयो । चौधरीले पार्टी कार्यकर्ताको हौसला बढाउने खालको अन्तर्वार्ता दिन महमामन्त्रीहरुलाई सुझावसमेत दिनुभयो । ‘अन्तर्वार्ता दिँदा हौसला बढाउने गरी दिनुस्, अहिलेसम्म जसरी निराश हुने र जहिले पनि पार्टीको आलोचना गरेर नदिनुस,’ चौधरीको भनाइ थियो ।
विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयमा पनि नेताहरुले चर्काे आलोचना गरेका थिए । बैठकमा राजीव ढुंगानाले पार्टीको संस्थागत निर्णयविना महामन्त्रीहरु निर्वाचन आयोग किन गएको ? भन्दै आक्रोश पोख्नुभयो ।
‘पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जान मिल्ने कुरा होइन, आफुखुशी कुराकानी गर्दै जाने हो भने भोलि अर्को पदाधिकारीले कोहीसँग कुरा गर्लान्, यसलाई कसरी पार्टीको निर्णय मान्न सकिन्छ ?’ उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्